जापानका प्रधानमन्त्री सिन्जो आबे संविधान संशोधन गर्ने पक्षमा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको बताएका छन् ।

उनले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिएका हुन् ।

उनले भने-निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको छ, त्यसैले संविधान संशोधनको पक्षमा म चाहिँ ढुक्क छु ।

गत अक्टोबर ११ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्र्या्टिक पार्टी (एलडीपी) ले २ सय ८३ स्थानमा जित हासिल गरेको थियो । जापानको प्रतिनिधि सभा ४ सय ६५ सदस्यीय रहेको छ ।

उनको सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ। यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३ सय १२ स्थानमा विजय हासिल गरेको छ ।

यो संख्या जापानको संसद्को दुई तिहाइ बहुमत हो । दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरूको इतिहासमै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता पनि बनेका छन्। सो निर्वाचनपछि उनी पुनः जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

जापानको कानुन सन् १९४७ मा अमेरिकाले निर्माण गरेको हो । जापान दोस्रो विश्वयुद्धमा तहसनहस भएपछि अमेरिकाले जापानको संविधान बनाइदिएको थियो ।

त्यो संविधानमा जापानले युद्ध गर्न नसक्ने गरी व्यवस्था गरिएको छ । यो नियमका कारण जापानी सेना युद्ध गर्न सक्दैन । त्यसैले प्रधानमन्त्री आबेले यसलाई परिवर्तन गर्न चाहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?