जापानमा ३५ करोडमा एभरेष्ट इन्टरनेश्नल स्कुलको आफ्नै भवन खरिद


टोकियो । जापानमा नेपालीहरुको सामूहिक लगानीमा सञ्चालन भईरहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले भवन खरिद गरेको छ ।

आउँदो शैक्षिक सत्रदेखि संचालनमा ल्याउने गरी स्कुलले आफ्नै भेअन खरिद गरेको हो ।

सुगीनामी वार्डको ओगिकुबोमा जग्गासहितको भवन ३५ करोड येनमा एभरेष्ट इन्टर्नेशनल स्कुलको नाममा खरिद गरिएको एभरेष्ट स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका जिम्मेवार अधिकारीहरुको रोहबरमा उक्त खरिद कार्य बुधबार सम्पन्न भएको हो । सोही दिनै भवनको चापी घरधनीले स्कुललाई हस्तान्तरण गरेका छन् ।

स्कुलले खरिद गरेको भवन रहेको जमिनको क्षेत्रफल ४ सय ३ वर्गमीटर (१ सय २२ चुवो) रहेको छ । एभरेष्ट स्कुलमा हाल कक्षा ७ सम्म पढाई भईरहेको छ । उक्त भवन भित्र कक्षा १२ सम्मका लागि पुग्ने पर्याप्त कक्षाकोठा, कवर्ड हल, सभाकक्ष, प्रयोगशाला, कार्यालय, प्रशासनिक कक्ष लगायतका आवश्यकीय पूर्वाधार निर्माण गरिने स्कुलको योजना छ ।

स्कुलले विज्ञप्ति मार्फत स्कुलको स्थापनाकाल देखिनै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरेका प्रोमोटर, सञ्चालक समितिका सदस्य, सल्लाहकार, शिक्षक-शिक्षिका, अभिभावक, मिडिया, टोकियोस्थित नेपाली राजदूतावास, नेपाल सरकारको सम्बन्धित निकाय, जापानी समुदाय तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यबाद ब्यक्त गरेको छ । ’स्कुललाई थप सुबिधा सम्पन्न बनाउन सहयोग गर्नुहुने लगानीकर्ताहरुमा विशेष धन्यबाद तथा आभार ब्यक्त गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?