उत्तर कोरिया छ महिना भित्र धराशायी हुने विश्लेषकको दाबी

टोकियो । दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् । 
उनले अहिले अर्थात पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकोले यसको असर देखा पर्न लागिसकेको जानकारी दिएका हुन् ।

दक्षिण कारियाका ती अनुसन्धानदाता पार्क जोङचुलले भने– यसको प्रभाव अहिले नै देखा पर्न थालिसकेको छ र आगामी छ महिनामा यसको प्रभाव अझै धेरै देखिने छ ।

दक्षिण कोरियाको राजधानी सोलमा मङ्गलबार आयोजना गरिएको वाणिज्यसम्बन्धी एक कार्यक्रममा उनले उत्तर कोरियाले आफूलाई कुनै असर नपरेको भनेको भए पनि त्यसको असर देखिन थालेको उनले जिकीर गरेका हुन् ।

पहिलेका नाकान्दीहरुमा विभिन्न देशले आणविक हतियारहरुको उत्पादन, विस्तार र वितरणमा मात्र केन्द्रित रही तिनमाथि प्रतिबन्ध लगाउने खालका मात्र थिए भने यस पटकको नाकाबन्दीले उत्तर कोरियाको व्यापार र वस्तुहरुको आयात निर्यातमा नै प्रतिबन्ध लगाएकोले यसको असर ठूलो पर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघले उक्त देशमाथि केही हप्ताअघि नाकाबन्दी लगाएको हो । उसले सेप्टेम्बर ३ मा आणविक परीक्षण तथा यसमा हाइड्रोजनबमकै परीक्षण गरेकोले हतियार उत्पादनको विरुद्धमा रहेको कानुनी प्रावधानको प्रयोग गरी उत्तर कोरियामाथि यस्तो नाकाबन्दी लगाइएको हो ।

तर पनि यस्तो नाकाबन्दीले आफूलाई कुनै पनि असर नपर्ने धम्की उत्तर कोरियाले दिएको थियो । उत्तर कोरियाले भनेको छ– यसले हामीलाई कुनै असर पार्दैन हामी हाम्रो काम झन राम्रोगरी गर्न सक्छौँ ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको बताइएको छ । उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उता उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने धम्की पनि दिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका बेला उत्तर कोरियाली विदेशमन्त्रीले सो धम्की दिनुभएको हो ।

अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा पनि विमर्श भइरहेको छ ।

उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्रीले दिनुभएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?