कांग्रेस नेता पौडेल जापानी अध्यागमनको २० घण्टे नियन्त्रणपछि नेपाल फिर्ता

टोकियो । नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमन विभागको २० घण्टे नियन्त्रणपछि नेपाल फर्किएका छन् । उनलाई जापान प्रहरीले आवश्यक कागजाद नपुगेको भन्दै नियन्त्रणमा लिएको थियो । आयोजकका अनुसार लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेपछि नेता पौडेललाई फिर्ता गरिएको हो ।

जापानस्थित नेपाली राजदूतावासले पौडेललाई निर्बाध रुपमा आउन दिन गरेको पहल प्रभावकारी हुन नसक्दा समस्या पैदा भएको थियो । दूतावासले नेताको जापान भ्रमणबारे आधिकारिक जानकारी नआए पनि समस्या भएपछि आयोजकले सम्पर्क गरेको जनाएको छ ।

जनसम्पर्क समिति सभापति डीपी कँडेलले युवानेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि नसुनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्न लगाइएको बताएका थिए ।

जापान अध्यागमनले शनिबार अपराह्न १३ः३० मा जापानको हानेदा विमानास्थल भएर आएका पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि आइतबार बिहान १०ः२४ मा नेपाल फिर्ता गरेको हो ।

पौडेलसँगै कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ र स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि अध्यागमनको नियन्त्रणमा परेका थिए । गुरुङसँग रातो राहदानी भएपछि तत्काल छाडे पनि पौडेल र न्यौपानेलाई भने नियन्त्रणमा राखिएको थियो ।

यसैबीच पौडेल र न्यौपानेको स्पोन्सर गरेका जापान निवासी नेपाली ऋदिन्द्र गिरिले भने आफु कारणबस नेपाल आउनु परेको र अध्यामनले बोलाएको बेला आफु नेपाल भएकोले त्यहाँ उपस्थित हुन नसक्दा समस्या भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?