छैटौं पल्ट जापान विश्वकपमा, अस्ट्रेलियालाई २–० ले हराउँदै रसिया यात्रा सुरक्षित

ताकुमा असानो र योसुके इडेगुचीको गोलमा जापानले बिहीबार घरेलु मैदानमा अस्ट्रेलियालाई २–० ले पराजित गरी लगातार छैटौंपल्ट विश्वकप यात्रा सुरक्षित गरेको छ । अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट हुने जापान चौथो टोली हो । यसअघि दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल तथा एसियाली क्षेत्रबाट इरान विश्वकपमा पुगिसकेका छन् । रुस आयोजकको हिसाबमा स्वत: छनोट भएको हो ।

सन् १९९८ यता जापान लगातार विश्वकपमा छनोट हुँदै आएको छ । छनोट चरणको यात्रा कठिन बन्दा जापानले बोस्नियाका प्रशिक्षक भाहिड हालिल्होडजिकलाई बर्खास्त गर्ने स्थितिमा पुगेको थियो ।

जापानले अब साउदी अरेयिबासँग अन्तिम खेल खेल्नेछ, जुन खेल अस्ट्रेलियाले निकै ‘नर्भस’ का साथ हेर्नुपर्ने हुनसक्छ । साउदी र अस्ट्रेलिया दुवैको समान १६ अंक छ । तर साउदी गोलभिन्नतामा अस्ट्रेलियाभन्दा २ गोलले अघि छ । अस्ट्रेलियाले अन्तिम खेल मेलबर्नमा थाइल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?