टोकियोमा नेपाल फेष्टिबल सुरु, राजदूत राणा भन्छिन्–नेपाल चिनाउने महत्वपुर्ण अवसर

टोकियो । नेपालको मौलिक कला, संस्कृति, भेषभुषाका बारेमा जापानी समुदायलाई परिचित गराउने र जापानमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाल फेष्टिबल २०१७ सुरु भएको छ ।

नेपालको कला संस्कृति सहित नेपालका महत्वपुर्ण प्राकृतिक र साँस्कृतिक धरोहरहरुका बारेमा प्रवद्धनात्मक जानकारी दिने र जापानीहरुलाई नेपालप्रति जानकार गराउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

शनिबार टोकियोस्थित उएनो पार्कमासुरु भएको फेष्टिबल आईतबार समापन हुने छ ।

अतिथि देवो भव भन्ने मुल नाराका साथ शनिबार उएनो पार्कमा सुरु भएको फेष्टिवलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष भवन भट्टले संयुक्त रुपमा उद्घाटन गरे । समारोहमा जापानको विदेश मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

फेष्टिबलकोे उद्घाटन गर्दै राजदूत राणाले नेपाल चिनाउने महत्वपुर्ण अभियानका रुपमा नेपाल फेष्टिबललाई लिएको बताइन् ।

राजदूत राणाले नेपालको सुन्दर प्राकृतिक दृश्यावलोकन, ऐतिहासिक र साँस्कृतिक धरोहरहरु तथा बुद्ध जन्मस्थल लुम्बिनी लगायतका क्षेत्रका बारेमा जापानी नागरिकहरुलाई जानकारी दिन सकिए नेपालमा जापानबाट उल्लेख्य मात्रामा पर्यटक पठाउन सकिने बताइन् ।

राजदूत राणाले सकारात्मक अभियानका लागि आयोजकलाई धन्यवाद दिदै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।

यस्तै एनआरएनएका उपाध्यक्ष भवन भट्टले नेपाल फेष्टिबलले जापानी नागरिकहरुमा नेपालबारेको जिज्ञासा मेटीने र नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने बताए ।

उनले फेष्टिबल मार्फत् एनआरएनए जापानले नेपालको साँस्कृतिक र प्राकृतिक सम्पदाहरुका बारेमा जापानी नागरिकहरुलाई जानकारी दिलाउने काम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नेपाल फेष्टिबल सफल बनाउनका लागि सबैको सकारात्मक सहयोग रहेको उल्लेख गर्दै फेष्टिबलमा आउने पाहुनाहरुलाई सभ्य र भब्यरुपमा स्वागत सत्कार गर्न आग्रह समेत गरे ।

दुई दिवसीय नेपाल फेष्टिबलमा करिव तीन लाख जापानीहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । फेष्टिवलमा यस पटक नेपाली घर सहित नेपाल चिनाउने विभिन्न स्टलहरु राखिएको छ ।

यस्तै नेपाली खानाहरुको विशेष प्रर्दशन समेत गरिने छ । फेष्टिवलमा खाना तथा अन्य जानकारी सहितका ४६ वटा स्टल रहने आयोजक एनआरएनए जापानले जनाएको छ ।

नेपाल फेष्टिबललाई सफल पार्नका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यसका लागि टोकियो प्रहरीले विशेष निगरानी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?