एनआरएनएको अधिवेशनमा लोकतन्त्रवादीलाई जिताउन कांग्रेसको निर्देशन, जापानमा कस्ले पाउला समर्थन ?

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन अगस्ट १३ तारिखका दिन हुँदै छ भने निर्वाचन सेप्टेम्वर ३ तारिखका लागि निर्धारण गरिएको छ ।

नेतृत्व लिनका लागि एनआरएनए जापानका वर्तमान उपाध्यक्ष टासी वाङदी लामा र महासचिव अनुज थापाका बीच प्रतिस्पर्धा हुने पक्का छ ।

यस बीचमा सहमतिको प्रयासहरु पनि भैरहेका छन् । तर, सहमति नबनेको खण्डमा यी दुईका बीच नै चुनावी लडाई हुने पक्का छ ।

जापानमा रहेका करिब ७० हजार प्रवासी नेपालीहरुको हक, अधिकार स्थापित गर्ने र उनीहरुलाई जापानमा सुरक्षित रुपमा पेशा व्यवसायमा संलग्न हुने, रोजगारीका लागि सहजिकरण गर्ने लगायतका दायित्व यो साझा संस्थामा छ र यसको नेतृत्व लिने व्यक्तिले सबै सँग सहजिकरण गर्नु पर्ने हुन्छ ।

दिनानुदिन नेपालीहरुको संख्या बढ्दै गएकाले पनि एनआरएनए जापानको अध्यक्ष अन्य मुलुकका अध्यक्ष भन्दा राजनीतिक रुपमा बलियो मानिन्छ । अझ जापान विश्वकै तेस्रो ठुलो आर्थिक शक्ति राष्ट्र भएकाले पनि यहाँको एनआरएनएले नेपालको विकास र लगानीमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ । यस कारण नेपालका राजनीतिक दलहरुले एनआरएनए जापानको अध्यक्ष आफू निकटका व्यक्तिलाई जिताउन चाहनु स्वभाविक हो ।

एनआरएनए संगठन रहेको देशहरुको अधिवेशन चलिराख्दा नेपाली कांग्रेसले आफ्नो पार्टी मातहतका जनसम्पर्क समितिहरुलाई पत्र पठाउँदै लोकतन्त्रवादी समूहलाई विजयी गराउन निर्देशन दिएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पत्र पठाउँदै एनआरएनएको नयाँ नेतृत्व चयनका लागि लोकतन्त्रवादी समूहलाई विजयी गराउन निर्देशन दिएका हुन् । उनको निर्देशनमा नेपालको राष्ट्रिय राजनीतिको समिकरण अनुसार गठबन्धन बनाएर चुनावमा जान पनि आग्रह गरिएको छ ।

एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारहरु लामा र थापा मध्ये लामा नेपाली कांग्रेस निकट मानिन्छन् । यद्यपी थापाको पनि कांग्रेसको जनसम्पर्क समितिसँग राम्रो सम्बन्ध रहेको छ । जनसम्पर्क समिति जापानले अहिलेसम्म कस्लाई समर्थन गर्ने भन्ने आधिकारिक निर्णय गरिसकेको छैन ।

तर, लामाले समर्थन पाउने समितिका एक सदस्य बताउँछन् । थापाको पनि पहुँच जनसम्पर्क समितिमा रहेकाले उनको पक्षमा पनि समर्थन बढ्ने देखिन्छ । कांग्रेस केन्द्रले पत्र काटेर लोकतन्त्र पक्षधरलाई समर्थन गर्न निर्देशन दिएको अवस्थामा एनआरएनए जापानको अध्यक्षमा कस्ले समर्थन पाउने हो, त्यो भने हेर्न बाँकी छ ।

किन की जनसम्पर्क समिति जापानले हालसम्म आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन भने जनसम्पर्क समितिमा पनि दुई अलग अलग समूह देखिएका छन् । उनीहरुका बीच एक मत एकता यो अधिवेशनमा देखिन्छ या देखिदैन, त्यो पनि हेर्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?