एनआरएनए जापानको निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता शुल्क १ लाख देखि ६ लाखसम्म

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि सेप्टेम्बर ३ तारिखका दिन निर्वाचन हुने भएको छ । एनआरएनए जापानले अगष्ट एक तारिखका दिन जारी गरेको विज्ञप्तीमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

अध्यक्ष सुदन थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा एनआरएनए जापानको भावी नेतृत्व चयनका सम्पूर्ण प्रकृया समावेश गरिएको छ । जुलाई २८ तारिखका दिन बसेको एनआरएनए जापानको २६ औ बैठकले गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदका सदस्य ओम गुरुङको संयोजकत्वमा निर्वाचन कमिटी गठन गरिएको उल्लेख छ ।

जस अनुसार निर्वाचन कमिटीमा बेद काफ्लेलाई आइटी प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै कमिटिका सदस्यहरुमा डा. भुपालमान श्रेष्ठ, मेघराज नेपाल र पुष्कर थापा रहेका छन् ।

एनआरएनए जापानले अगष्ट २ तारिखका दिन मतदानमा सहभागिता जनाउने सदस्यहरुको नामावली प्रकाशन गर्ने छ । यस्तै २ र ३ तारिखका दिन सदस्यहरुको नाम माथि दाबी विरोध गर्न पाइने छ । अगष्ट ४ तारिखका दिन सदस्यहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

अगष्ट ५ र ६ तारिखका दिन उम्मेदवारी दर्ता, ७ तारिखका दिन प्रारम्भिक नामावली प्रकाशन, ८ तारिख दाबी बिरोध र ९ तारिखका दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ ।

अगष्ट १० देखि १२ सम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने अगष्ट १३ तारिखका दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । सर्वसम्मत नभएका पदहरुका लागि २०१७ सेप्टेम्वर ३ तारिखका दिन निर्वाचन गरिने छ । सेप्टेम्वर १० तारिखका दिन विजयी उम्मेदवारहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम राखिने छ ।

एनआरएनए जापानको विधान २०१५ को संसोधित बिधान २०१६ अनुसार कार्यसमितिमा निर्वाचित पद संख्या १५ रहने छ । अध्यक्ष, एक जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महिला उपाध्यक्ष, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष एक गरि जम्मा नौ जना पदाधिकारी रहने छन् । यस्तै एक जना महिला सहित छ जना कार्यसमिति सदस्य रहने छन् ।

विधान अनुसार राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी बन्नका लागि क्षेत्रीय कमिटीको संयोजक वा राष्ट्रिय समन्वय परिषदको कुनै पनि पदमा कम्तिमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ ।

पदाधिकारी तहको उम्मेदवार बन्नका लागि राष्ट्रिय समन्वय परिषदको सदस्य वा सल्लाहकार भएको हुनु पर्ने छ ।यस्तै क्षेत्रीय कार्यसमिति सदस्य वा सल्लाहकार रहि कुनै पनि पदमा एक कार्यकाल काम गरेका जोसुकै उम्मेदवार बन्न पाउने छन् ।

कार्यसमिति सदस्यको उम्मेदवार बन्नका लागि प्रारम्भिक सदस्य वा पञ्जीकृत कुनै पनि सदस्यले उम्मेदवारी दिन सक्ने व्यवस्था विधानमा छ । आइसीसीको हकमा भने पञ्जीकृत सदस्य हरुले मात्र मताधिकार पाउने विधानमा व्यवस्था गरिएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता शुल्क पनि तोकिएको छ । जस अनुसार सदस्य पदका लागि दर्ता शुल्क १००,००० येन लाग्ने छ । सहकोषाध्यक्षका लागि १५०,०००, कोषाध्यक्षका लागि २००,००० दर्ता शुल्क राखिएको छ ।

यस्तै सचिवका लागि २५०,०००, महासचिवको लागि ३००,००० तोकिएको छ । उपाध्यक्षका लागि ३५०,०००, बरिष्ठ उपाध्यक्षका ४००,००० तोकिएको छ भने अध्यक्षका लागि ४५०,००० शुल्क लाग्ने छ । आईसीसी सदस्यका लागि भने दर्ता शुल्क ६००,००० तोकिएको छ । उम्मेदवारी फिर्ता लिनेहरुको पाँच मान येन कट्टा गरि बाकी रकम फिर्ता हुने पनि एनआरएनए जापानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?