एनआरएनए जापानको सचिव पदमा लामिछानेले गरे उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपालीसंघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि सचिव पदमा बाशुदेव लामिछानेले आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले आफु सचिव हुनुपर्ने आधारहरु सहित दाबेदारी प्रस्तुत गरेका हुन् ।

लामिछानेले आफु जापानमा क्रियाशील राजनीतिक दलहरुका भातृ संगठनहरुका तर्फबाट साझा उम्मेदवार भएको र एनआरएनए जापानको १३ वटै क्षेत्रीय समितिहरुमा पुगेको र जापानभर रहेका करिब ७० हजार नेपालीहरुका बीचमा परिचित भएकाले उम्मेदवार बनेको बताएका छन् ।

उनले आफुले जापानका सबै क्षेत्रमा रहेका नेपालीहरुसँग सल्लाह गरेरै उम्मेदवार बन्ने निचोडमा पुगेको बताएका छन् । उनले आफु निर्वाचित भए निर्वाचनको मुखमा मात्र सदस्यता वितरण गर्ने परम्पराको अन्त्य गर्दै सदस्यता वितरणलाई पारदर्शी बनाउन पहल गर्ने बताएका छन् ।

उनले वर्तमान कार्यसमितिले थालेका राम्रा कामलाई निरन्तरता दिदै थप नयाँ योजना ल्याउने पनि बताए । वर्तमान कार्यसमितिले थालेको एनआरएनए भवन निर्माणार्थ सहयोग संकलन, भूकम्प पीडितलाई राहत संकलन, ५ करोडको अक्षय कोष स्थापना अभियान, नेपाल फेस्टिबल लगायतका कामलाई निरन्तरता दिने उल्लेख गरेका छन् ।

उनले निर्वाचन प्रक्रियामा एक व्यक्ति मात्रै निर्वाचित हुने भएकाले आफु पराजित भए पनि एनआरएन अभियानमा झन् सक्रियताका साथ लाग्ने उद्घोष समेत गरेका छन् । सन् २००९ बाट एनआरएनए अभियानमा जोडिएका लामिछाने जापानमा सामाजिक काममा सक्रिय छन् ।

नेपालमा हुँदा सरकारी विद्यालयमा समेत अध्यपान गराएका लामिछाने बौद्धिक युवाका रुपमा चिनिन्छन् । उनले जापानको नयाँ कार्यसमिति सबैको सहमतिमा चयन गर्न सकिए एकताबद्ध रुपमा एनआरएनए अभियान अघि बढ्ने तर्क राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?