नेपाली फुटबल टोलीले जापानमा मैत्रिपुर्ण फुटबल खेल्ने, अगष्ट ४ मा टोकियो आइपुग्ने

टोकियो । नेपाली राष्ट्रिय फुटबल टोलीले साउन अन्तिम साता जापानमा मैत्रिपूर्ण फुटबल खेल्न आउने भएको छ । प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोली यही अगष्ट ४ तारिखमा १० दिनका लागि जापान आउन लागेको हो ।

अखिल नेपाल फुटबल संघका अनुसार एसियन कप छनोटअन्तर्गत् हुने खेलको तयारी गर्न नेपाली टोली जापान आउन लागेको हो ।

एसियन कप छनोटअन्तर्गत आगामी सेप्टेम्बर ५ मा नेपालले ताजकिस्तानविरुद्ध खेल्नेछ । ताजकिस्तानविरुद्धको खेलका लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत साताबाट टोलीको प्रशिक्षण सुरु गराइसकेका छन् ।

यसअघि फिलिपिन्समा भएको एसियन कप छनोटको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ४–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एएफसी एसियन कप छनोटमा परेको कुवेत र ग्वाम फिफाको कारबाहीमा परेपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागि गराएको हो ।

समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?