तिवारी प्रकरणमा नाम जोडिएपछि भावुक हुँदै मल्लले भने, ‘म पीडितलाई न्याय दिलाएरै छाड्छु’ (भिडियो सहित)

टोकियो । पत्रकार तिलक मल्लले आफ्नो नाम उल्लेख गरेर आफूलाई बदनाम बनाउन खोजिएको बताएका छन् । उनले केही दिन पहिला केही अनलाइन मिडियाहरुमा आएका समाचारको खण्डन गर्दै गोविन्द्र प्रसाद तिवारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

‘नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार’ लगायत शिर्षकमा गत साता अनलाइन मिडियाहरुले समाचार लेखेका थिए, जसमा पत्रकार मल्लको समेत संलग्नता रहेको समाचार छापिएको थियो ।

शनिबार पत्रकार मल्लले टोकियोमा पत्रकार सम्मेलन गर्दै आफूलाई सेन्टिमेण्टल ब्ल्याकमेल गर्न खोजिएको आरोप लगाए । उनले आफूलाई जबरजस्ती फसाउन खोजिएको भन्दै ठगी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित गरेर देखाउन पनि चुनौति दिए ।

मल्लले तिवारीसँग आफ्नो कारोबार रहेको बताउँदै उनीसँगको कारोबार र ठगी प्रकरण फरक भएको बताए । उनले तिवारीसँगको आफ्नो कारोबार र तिवारीको ठगी प्रकरण फरक फरक कुरा भएकाले यसलाई एउटै रुपमा नलिन समेत आग्रह गरे । पत्रकार मल्लले पत्रकार सम्मेलनमा तिवारीसँग आफूले लिनुपर्ने रकम नेपालमा आफ्ना छोराको खातामा राख्न लगाई झुक्याएर पीडितलाई तिर्न लगाएको पनि प्रष्टिकरण दिएका छन् ।

तिवारीले जापानमा आकर्षक रोजगारी दिलाई दिने भन्दै करोडौं रकम उठाएर विचल्ली पारेको भन्दै ठगी आरोप लागेको छ । तिवारीले नेपालमा केही युवाहरुबाट यतिका धेरै रकम उठाएर जापान नलगेपछि यो प्रकरण सार्वजनिक भएको थियो । यहि विषयलाई लिएर समाचार लेख्ने क्रममा केही अनलाइनहरुले मल्लको नाम जोडेर समाचार लेखेका थिए ।

पत्रकार सम्मेलनमा निकै भावुक रुपमा प्रस्तुत भएका मल्लले आफुलाई केही मिडियाहरुले तथ्य बुझ्दै नबुझी फसाउन खोजेको र सामाजिक सञ्जालहरु मार्फत् आफ्नो चरित्र हत्या गरिएको भन्दै आक्रोश पोखे । पत्रकार सम्मेलनमा निकै दुखित देखिएका मल्लले भने, ’सत्य तथ्यको गहिराइमा पुग्दै नपुगी सटही र छिपछिपे बुझाइबाट धारणा बनाइ हाल्ने संस्कारले समाजको कहिलै भलो गर्दैन ।’

नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व अध्यक्ष समेत रहेका मल्लले तिवारी ठगी प्रकरणका पीडितले चाँडै न्याय पाउनुपर्ने पक्षमा आफु रहेको बताउँदै दोषीलाई कानुनले तोके अनुसारको हदैसम्मको सजाय दिइनुपर्ने धारण पनि राखे ।

मल्लले भने– ‘जस्तोसुकै समस्या झेल्नुपरे पनि म सधैं सत्य र न्यायको पक्षमा निर्भिक भएर उभिनेछु, अन्तमा सत्यको जित हुने छ, सत्य सत्य नै साबित भएरै छोड्ने छ । तिवारीको ठगी धन्दामा संलग्नता रहेको स–प्रमाण दोषी करार गरियोस् म तपाईहरुकै अगाडि सेरिएर मर्न तयार छु, हदै सम्मको सजाय भोग्न तयार छु, तर, निराधार रुपमा मेरो चरित्र हत्या गर्न खोज्नेलाई त्यसै उन्मुक्ति दिन पाईंदैन ।’

पत्रकार सम्मेलनमा मल्लले तिवारीले लेखेको पत्र, भिडियो क्लिप्स समेत पेश गरेका थिए । तिवारीले पत्रमा मल्लको कुनै संलग्नता नरहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको तिवारीको भिडियो फुटेजमा यस ठगी प्रकरणमा पत्रकार मल्ल र मल्लका छोरा सुदर्शन मल्लको कुनै संलग्नता नरहेको बताएका छन् ।

तिवारीले मल्लका छोराको नेपालस्थित बैंक खातामा पैसा जम्मा गर्न आफूले नै लगाएको पनि स्वकार गरेका छन् । तिवारीले जापानमा रहादा पत्रकार मल्लसँग आफूले लेनदेनको कारेबार गरेको समेत उक्त भिडियो फुटेजमा बताएका छन् । उनले आफूले मल्लसँग जापानमा होटल लगानीबारे कारोबार गरेको र उनको छोराको बैंक खातामा सोहै रकम हालेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा मल्लले तिवारीसँगको आफ्नो कारोबारको सम्पूर्ण हिसाब किताब पेश गरेका थिए ।

सन् २०१६ को फेव्रुवरीमा पत्रकार मल्ल र तिवारीबीच चिनजान भएको थियो । टोकियोको शिनओकुबो बस्ने मल्ल र योकोहामा बस्ने तिवारीबीच चिनजान राम्रो हुँदै गएपछि भेटघाट बढ्न थालेको थियो । टोकियो रोधी क्लवमा लगानी भएका मल्ललाई तिवारीले आफू पनि लगानी गर्न इच्छुक रहेको बताएपछि उनीहरुबीच कारोबार सुरु भएको हो । तिवारीले तिर्नुपर्ने रकम नेपालबाटै मिलाउने बताए अनुसार नेपालमा रहेका मल्लका छोराको बैंक खाता उनलाई दिइएको थियो ।

तर, तिवारीले जापान लैजाने भनीएका पीडितहरुलाई सोहै खातामा रहम जम्मा गर्न लगाएका थिए । तिवारीले आफ्ना आफन्त, मामा, भान्जा लगायतले नेपालमा रहेको उनको छोराको बैंक खातामा रकम जम्मा पारिदिने बताएर पीडितहरुलाई सो खातामा रकम जम्मा गर्न लगाएका थिए । जब ठगी प्रकरण सार्बजनिक भयो, तब मात्र मल्लले आफ्नो छोराको खातामा तिवारीका आफन्तले पठाएको भनिएको रकम पीडितको रहेछ । गत वर्ष नै पीडितहरुले तिवारीको आग्रह अनुसार मल्लका छोराको खातामा रकम जम्मा गरेका थिए । आफुले लिनुपर्ने रकम आएको ठानेका मल्लले पीडितको रकम आफुले तिर्न नसक्ने बताए । उनले पीडितहरुलाई तिर्नुपर्ने रकमको पहिलो किस्ता बापतको रकम दिलाउनका लागि केही रकम नेपाल पठाइ सकिएको बताए ।

रकम जम्मा गर्ने पक्ष र बैंकको खाता नम्वर उपलब्ध गराउने तिवारी पक्षबीच तत्कालिन अवस्थामा कुनै सम्झौता नभएकोले समस्यालाई सहमतिबाटै सल्टाउन आफुले पनि सकारात्मक भुमिका खेलिरहेको बताउँदै उनले भने, ‘अबको केही दिनभित्र पीडितहरुले पहिलो किस्ता रकम फिर्ता पाउने छन् ।’

पत्रकाार मल्लले पत्रकार सम्मेलनमा काम गर्दै किस्ताबन्दीमा तिर्दै जाने सर्तमा तिवारी परिवारले केही रकमको जोहो गरी नेपाल पठाएको बताए । उनले बाँकी रकम पनि क्रमशः तिर्दै जान तिवारी परिवार तयार रहेको जानकारी दिए ।

गोविन्द तिवारीलाई जापान प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्ने र उनलाई तत्काल नेपाल पठाउन सक्ने भएकोले जापानमै रहेका उनका श्रीमती, भाई लगायत परिवारका सदस्यहरुले काम गर्दै पीडितहरुको रकम क्रमशः फिर्ता गर्दै जाने गरि सहमति भएको पनि मल्लले बताए । करोडौं ठगी प्रकरणका तिवारीले लिखित र भिडियो सन्देशमा समेत घटनाको सम्पूर्ण दोषी आफू मात्रै बताएपछि एकाएक विवादमा परेका मल्ललाई राहत महसुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?