काठमाडौं पुगेका जापानी मन्त्री तादाहिको इटोले भाबुक हुँदै भने–मलाई दुःख लाग्यो

टाेकियाे । जापानका वातावरण राज्यमन्त्री तादाहिको इटोले नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण संसारकै प्रसिद्ध धरोहरहरू भत्केर भग्नावशेषमा परिणत भएकामा आफूलाई निक्कै दुःख लागेको बताएका छन्र ।

नेपालमा भूकम्पपछिको भग्नावशेष कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेर आज राजधानी भएको एक अन्तरक्रिया कार्यक्रममा उनले नेपालका पूर्वजहरूले निर्माण गरेर गएका धरोहरहरू जथाभावी पुनःनिर्माण गर्नु उपयुक्त नभएको बरु समय लगाएरै भएपनि तिनीहरुलाई यथास्थितिमा फर्काउनुपर्ने धारणा व्यक्त गरे ।

राज्यमन्त्री इटोले जापान पनि प्राकृतिक विपद्को सामना गर्दै आएको र जापानको भग्नावशेष व्यवस्थापन कार्यको अनुभव नेपालको लागि उपयोगी हुने विचार व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मानव सिर्जित विध्वंश र प्रकृति सिर्जित विध्वंशको सामना गर्दै मुलुकको पुनःनिर्माण गरेको जापानी जनताको अनुभव नेपालका लागि उपयोगी हुने बताए।

पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपाल अहिले ‘समृद्ध नेपाल’ भन्ने अभियानमा जुटिरहेको बताउँदै यसका लागि जापानबाट सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालमा २०७२ सालमा गएपछि राहत तथा उद्धार कार्यका लागि जापान सरकारले २७० जना विशेषज्ञलाई नेपाल पठाइ सहयोग गरेको स्मरण गराए।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव यामलाल भुषालले भूकम्पबाट क्षतिग्रस्त थुप्रै सम्पदा निर्माण गर्ने तथा भग्नावशेष पन्छाउने काम चुनौतीपूर्ण रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?