टोकियोमा समृद्व नेपालबारे बहस, विज्ञ भन्छन्–जापानी जनताको मेहनत हेरौं, नेपाल बन्न समय लाग्दैन

टोकियो । जापानका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डा. केदारभक्त माथेमाले जापानी जनताको मेहनत गर्ने संस्कारले मात्र सम्भव भएको बताएका छन् ।

जापानको विकास पैसा र स्रोत परिचालनबाट मात्रै नभएर जापानी जनताको मेहनतको प्रतिफल रहेको बताउँदै उनले मेहनत गर्ने संस्कार बसाउन सकिए नेपाल पनि बिकसीत मुलुक बन्न समय नलाग्ने बताए ।

दिगो विकासका लागि पारस्परिक मैत्री समुह (आइएनएफएसडी)ले जापानमा अहिलेसम्मकै फरक शैलीको कार्यक्रम आयोजना गरेको थियो । समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका विषयक अन्तरक्रियामा सहभागि माथेमा लगायत काव्यक्तित्वहरुले नेपालमा समृद्वी सम्भव रहेको बताए ।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्रले नेपालको विकासका लागि अब युवाअरु अघि बढ्ने बेला आइसकेकाले प्रवासमा धेरै दिन नबस्न जापानमा रहेका युवाहरुलाई आग्रह गरे ।

उनले अब नेपाल विकासको चरणमा अघि बढ्ने बताउँदै यसका लागि विदेशमा सिकेका शीप र मेहनत गर्ने बानी नेपालमा पुर्याउनुपर्ने बताए ।

कार्यक्रममा जापानको चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले आफुले इमान गुमाए पछि अरुबाट इमान्दारीताको अपेक्षा गर्न नसकिने बताउँदै नेपालीहरु इमान्दार बन्नुपर्ने बताए । उनले इमान्दारीताका साथ गरेको कामको प्रतिफल पनि राम्रो हुने भएकाले आफु लागेको काममा लगनशिल भएर लाग्न नेपाली पुवालाई आग्रह गरे । लामिछाने नेपालका पहिलो पिएचडी गर्ने दृष्टिविहिन हुन् ।

कार्यक्रममा चर्चित पत्रकार प्रेम बानियाँले विदेशमा रहेका नेपालीहरुले आफुले पाएको ज्ञान, शिप रक्षमता नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले विदेशमा रहेका नेपालीहरुका बीच घर फर्कने अभियान नै चाल्नुपर्ने बताए ।

पृथक तरिकाको यो कार्यक्रमको सुरुमा चारै जना वत्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा दर्शकहरुले प्रश्न सोध्ने र उनीहरुले जवाफ दिने क्रम चलेको थियो । ५ सय जनाको सिट रहेको नाकानो जिरो हलमा सिट क्षमता भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । जापानमा नेपाली संघ संस्थाहरुले अहिलेसम्म गरेका कार्यक्रमहरु मध्ये यो कार्यक्रम नितान्त फरक र विकाससँग जोडिएको बहस थियो ।

सिट क्षमता भन्दा धेरैको उपस्थिति रहेका कारण दर्शकहरुलाई बस्न केही असविजलो भएको देखिन्थ्यो । जापानमा नेपाली समुदायले प्रायजसो साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने गरेका थिए । तर, यसपटकको कार्यक्रम नितान्त भिन्न प्रकृतिको रहेको थियो । कार्यक्रममा विद्यार्थी र बौद्धिक वर्गका व्यक्तिहरुको बाक्लो सहभागिता देखिन्थ्यो ।

वैदेशिक लगानी उच्च स्तरीय समन्वय तथा अनुगमन समितिका सदस्य तथा कार्यक्रम संयोजक महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहसंयोजक दुर्गा बहादुर खत्रीले कार्यक्रममा सहभागिहरुको स्वागत गरेका थिए भने एनआरएन जापानका महासचिव अनुज थापाले विषयवस्तुका बारेमा जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?