जापानले दियो नेपालका दुर्गम चार जिल्लाका लागि एम्बुलेन्स

काठमाडौं ।  नेपाल रेडक्रस सोसाइटीलाई जापानी दूतावासले चार वटा एम्बुलेन्स प्रदान गरेको छ। चार जिल्लाको ग्रामीण स्वास्थ्य सेवा सुधारका लागि जापानी दूतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

ती एम्बुलेन्सले जाजरकोट, खोटाङ, धनकुटा र रौतहटमा सेवा दिनेछन्। सन् २०१६ को नोभेम्बर महिनामा पनि सोसाइटीलाई जापानी दूतावासले प्युठान, गुल्मी, उदयपुर र मोरङका लागि चार वटाएम्बुलेन्स हस्तान्तरण गरेको थियो।

ती एम्बुलेन्स सोसाइटीले आफ्ना जिल्ला शाखामार्फत व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत बिरामी, औषधि र रगत क्षेत्रमा सञ्चालनमा ल्याउनेछ।

सोसाइटीको केन्द्रीय कार्यलयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सोसाइटीका अध्यक्ष थापाले सम्बन्धित जिल्ला शाखाका अध्यक्षहरुलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए।

जापनी राजदूत ओगावाले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पुग्ने बताउँदै मानवीय सेवाका क्षेत्रमा सोसाइटीलाई आगामी दिनमा पनि थप सहयोग जारी राखिने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?