अमेरिका, जापान र दक्षिण कोरियाको त्रिदेशीय साझेदारीको तयारी, अमेरिका जाँदै मुन

टोकियो । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन पहिलो विदेश भ्रमणका रुपमा संयुक्त राज्य अमेरिका जाने भएका छन् र अमेरिकामा जापान सहितको त्रिदेशीय साझेदारीको एजेण्डामा छलफल हुने छ । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग त्रिदेशीय साझेदारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

पछिल्लो समयमा उत्तर कोरियाले दक्षिण कोरिया र जापानका विरुद्धमा भन्दै आणविक परिक्षणका साथै दक्षिणको विरोध गरेका अभिव्यक्तिहरु आक्रामक रुपमा दिने गरेको छ ।

यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।

उनले यसअघि दिएको एक अभिव्यक्तिमा आफूले पहिलो भ्रमण उत्तर कोरियाको गर्ने बताएका थिए । तर त्यो नभएर उनले अमेरिकाकै भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाले बारम्बार अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै अन्य प्रचलित कानुनको उल्लङ्घन गर्दै आणविक परीक्षण गरिरहेको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरिया एक खतरनाक धम्की भएको बताएका थिए ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान, दक्षिण कोरिया लगायत विश्वले नै बारम्बार हतियारको दम्भ प्रदर्शन नगर्न भन्दै चेतावानी दिइरहँदा पनि उत्तरले आफ्नो आणविक परीक्षणको काम भने रोकेको छैन ।

यसैबीच उत्तर कोरियाले अमेरिकाका विरुद्धमा आइतबार प्योङयाङमा विरोध प्रदर्शन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?