टोकियो । शनिबार दुर्घटनामा परेको अमेरिकी नौसेनाको पानी जहाजका चालक दलका सातै जना सदस्य मृतअवस्थामा फेला परेका छन् । जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा भएको दुर्घटना पछि हराईरहेका चालक दलका सातै जना सदस्य मृत अवस्थामा भेटिएका हुन् ।
अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
शव पहिचानका लागि जापानको अस्पताल लगिएको छ । उद्धारकर्मीले आइतबार बिहान शवसँग जहाजको क्षतिग्रस्त भागको टुक्रा पनि फेला पारेका थिए ।
योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको थियो । उक्त जहाजमा इन्धनपनिसकिएको जापानी सञ्चार माध्यमले जनाएका छन् ।