यस्तो छ नेपाली फुटबलको अबको बाटो, के जापानी मोडलले ल्याउला त परिवर्तन ?

काठमाडाैं ।  अझै ढिला भएको छैन, एउटा बहस सुरु गरौं न । नेपाली फुटबलले आफ्नो स्तर माथि उकास्ने हो भने कुन मोडल पछ्याउँदा ठिक हुनेछ ? नेपाली राष्ट्रिय टिमको प्रशिक्षक कहिले कुन देशको हुन्छ भने कहिले कुन । यस्तोमा तिनले लागू गर्ने प्रशिक्षण शैलीले पनि फरक हुने गर्छ । फरक प्रशिक्षकअनुसार फरक शैलीले खेल्दा नेपाली फुटबल विकासमा घाटा पुगिरहेको त छैन ? ताकेडा चियाकी अहिले उनी एन्फाका टेक्निकल डाइरेक्टर हुन् । सन् २०१६ को फेब्रुअरीयता उनी काठमाडौंमा छन् ।

यी जापानी फुटबल विशेषज्ञलाई मान्ने हो भन नेपालका लागि कुनै एक फुटबल शैली ठीक छ भने त्यो हो, जापानी मोडल । अहिले नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पनि जापानी नै छन्, ग्योतोकु कोजु । चियाकी र कोजु मिलेर अहिले हाम्रो राष्ट्रिय टिमलाई त्यसै मोडलअनुसार प्रशिक्षण गरिरहेका छन् । त्यो भन्दा पनि महत्त्वपूर्ण, चियाकी चाहन्छन्, नेपालले पनि फुटबलमा अझ राम्रो गर्ने हो भने यही शैली पछ्याए राम्रो । उनी कुनै न कुनै रूपमा यसका लागि काम पनि गरिरहेका छन् ।
सबैभन्दा पहिले सन् १९८० तिर फर्कौं । त्यति बेला जापानको फुटबलस्तर ठ्याक्कै अहिले हाम्रोजस्तै थियो । अनि नतिजा पनि राम्रो आइरहेको थिएन । सबैभन्दा ठूलो जापानको खास फुटबल प्रतिद्वन्द्वी दक्षिण कोरियासँग उनीहरूको टिमले राम्रो गर्न सकिरहेको थिएन । यस्तोमा जापानले आफ्ना धेरै फुटबल प्रशिक्षकलाई विदेश पठाए, प्रशिक्षण कस्तो हुनुपर्छ भनेर सिक्न । यसबीच धेरै विदेशी प्रशिक्षक पनि जापान आए । उनीहरूसँग पनि जापानीले सिके ।

जापानले यस्तै लामो गृहकार्यपछि एउटा यस्तो प्रशिक्षणको मोडल तयार पार्‍यो, जुन त्यहाँका फुटबलसँग मिल्थ्यो । चियाकी मान्छन्, यही शैली नेपालका लागि पनि उपयुक्त छ । किन त ? जापानी दूतावासद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनको उत्तर थियो, ‘मेरो विचारमा नेपाल र जापानी फुटबलमा धेरै मेल छ । विशेषत: खेलाडीको शारीरिक बनावटमा । हाम्रा खेलाडी पनि युरोपेली जस्ता अग्लो हुँदैनन् । नेपाली खेलाडी पनि हाम्राजस्तै हुन् ।’

त्यसैले जापानले ठ्याक्कै देखिने गरेर सर्ट–पासमा बढी जोड दिन्छ । खेलाडीको व्यक्तिगत खेल कौशलता बढाउन पनि उत्तिकै जोड दिन्छ । यता चियाकी र कोजु नेपाल आएको पनि एक वर्षभन्दा बढी हुन थालेको छ । उनीहरूले नेपाली फुटबलमा अनुभव गरेको पहिलो ठूलो कमजोरी हो, राम्रा प्रशिक्षकको कमी । प्रशिक्षक नै राम्रो छैन भने कसरी खेलाडी राम्रो हुन्छ त ? उनको प्रश्न पनि उत्तिकै स्वाभाविक छ । नेपालमा जति पनि प्रशिक्षक छन्, अधिकांसले पुरानै प्रशिक्षण शैली अपनाइरहेका छन् ।

नेपाली प्रशिक्षक यत्तिकैमा सीमित हुने हो भने स्पष्ट छ, नेपाली फुटबलले विकास गर्ने छैन । यसबारे चियाकीको स्पष्ट जिकिर छ । ‘नेपाल आएयता मैले बुझेको सबैभन्दा ठूलो तथ्य यही हो । म यसमा सुधार चाहन्छु,’ उनले भने, ‘म र कोजु दुवै लामो समय नेपालमै हुनेछौं भन्ने छैन । तर हामी प्रशिक्षणको त्यस्तो मोडल छाडेर जान चाहन्छौं, जुन जापानी हो । जसले नेपाली फुटबललाई धेरै मद्दत गर्नेछ ।’ त्यसैको पहिलो पाइला हो, नेपालका पाँच प्रशिक्षकलाई जापान जाने कार्यक्रम ।

एक वर्ष भयो, नेपालसँग आधिकारिक ‘ए’ लाइसेन्स भएका प्रशिक्षक हुन थालेको । अहिले नेपालसँग १४ यस्ता प्रशिक्षक छन् । त्यसमध्ये राम्रो सम्भावना बोकेका पाँच जनाले आउने एक साता जापानमा बिताउने छन् र सिक्ने छन् । वास्तवमै प्रशिक्षक कस्तो हुन्छ, त्यो पनि जापानी मोडलमा । ‘स्तरीय प्रशिक्षण कस्तो हुन्छ, त्यो सुनाएर मात्र पुग्दैन । आफ्नौ आँखाले हेरेर बुझ्नुपर्छ अनि मात्र राम्रो ज्ञान हुन्छ । त्यसैले यी पाँच प्रशिक्षक उता जान लागेका हुन् ।

यी भाग्यमानी प्रशिक्षक हुन्, राजेन्द्र तामाङ, यमप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठ । चियाकीले यी पाँच प्रशिक्षकबाट धेरै अपेक्षा पनि राखेका छन्, भविष्यमा राम्रो गर्नेछन् भनेर । यी पाँचमध्येपछि पछिल्लो समय मेघराज र सुनीलले चियाकीसँग घुलमिल हुने अवसर पाएका छन् । उनीहरूले देखाएको उत्सुकतालाई लिएर चियाकी खुसी पछि छन् । ‘मेघराज र सुनील आफ्नो प्रशिक्षण ढाँचा सुधार गर्न र अझ सिक्दै अगाडि बढ्ने खालका छन्, जुन निकै राम्रो हो,’ चियाकीले भने ।

कोजु आफैंले पनि अहिले नेपाली राष्ट्रिय टिमको प्रशिक्षणमा यही जापानी मोडल पछ्याइरहेका छन् । यो शैली पछ्याउँदैमा तुरुन्तै नतिजा आउने छ भन्ने पनि होइन । तर यसले खेलाडीलाई राम्रो हुने भने तय छ । ‘नेपाली फुटबल खेलाडी प्राविधिक रूपमा राम्रा छन्, यसमा कुनै शंका छैन । तर यस्तो हुँदैमा पनि राम्रो नतिजा किन आउँदैन त ?,’ यसको उत्तर यही हो, प्रशिक्षणको ठीक व्यवस्थापन नभएर । चियाकी चाहन्छन्, यसमा वास्तवमै सुधार होस् । अनि उनीहरू यसका लागि सहयोग गर्न उत्तिकै तयार पनि छन् ।

आजको कान्तिपुर दैनिकको कोसेलीमा हिमेशले लेख्नुभएको सामग्री साभार गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?