महाबीरको महाअभियानमा जुट्दै जापानवासी नेपाली, पुनकै सहभागितामा हुँदैछ कार्यक्रम

टोकियो । नेपालका चर्चित वैज्ञानिक एवं प्रविधिका विज्ञ महाबीर पुनले स्थापना गर्न लागेका ‘राष्ट्रिय आविष्कार केन्द्र’को सहयोगार्थ जापानबासी नेपालीहरुले सहयोग संकलन अभियान सुरु गर्न लागेका छन् ।

एसियाको नोवेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता समेत रहेका प्रविधिविज्ञ पुनले आफ्नो अभियान पुरा गर्नका लागि आफुले पाएका पुरस्कार रसम्मानहरु बेच्न सुरु गरिरहेका बेला जापानबासी नेपालीहरुले भने पुनको अभियानमा सहयोग संकलन थालेका हुन् ।

पुनको अभियानमा सहयोग जुटाउन जापानमा ‘राष्ट्रिय आविष्कार केन्द्र सहयोग समिति जापान’ समेत गठन गरिएको छ ।

समितिले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापनाका लागि केही रकम सहयोग गर्नेका लागि जापानमा तीन दिवसीय साँगीतिक कार्यक्रमको आयोजना समेत गर्न लागेको छ ।

जुलाई महिनाको पहिलो साता हुने कार्यक्रम टोकियो, ओसाका र नागोयामा सञ्चालन गरिनेछ । कार्यक्रमका लागि पुन सहित नेपालका चर्चित कलाकारहरु जापान आउनेछन् ।

अमेरिकाबाट विज्ञान प्रविधिमा उच्चशिक्षा हासिल गरेका पुन अमेरिकामै पाएको लाखौं तलबको जागिर छाडेर नेपाल फर्किएका थिए । उनले म्याग्दी लगायत विकट जिल्लामा इन्टरनेट लगायत प्रविधिको विकास र विस्तार गरेका थिए भने ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापनाका लागि पहल गरिरहेका छन् ।

उनलाई नेपाल सरकारले सहयोगको आश्वासन दिए पनि पुँजिगत सहयोग भने गरेको छैन । तर, नेपालमा रहेका र प्रवासमा रहेका नेपालीहरुले भने उनको अभियानमा सहयोग संकलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?