जापानमा ‘पर्व’ प्रदर्शन हुँदै, निर्देशक राउतसँगै बसेर चलचित्र हेर्न पाईने

चन्द्र खनाल, टोकियो । नेपाली कथानक चलचित्र ‘पर्व’ जापानमा पनि प्रदर्शन हुने भएको छ । जेठ १२ बाट नेपालभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र पर्वमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोता माझ हंगामा मच्चाइरहेको छ ।

कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई आश्चर्यजनक रुपमा प्रस्तुत गरिएको उक्त चलचित्र सोलमारी ग्रुपको आयोजनामा जापानमा प्रदर्शन गर्न लागिएको हो ।

जापामा बसोवास गर्ने नेपालीहरुका लागि मनोरञ्जन साथै आफ्नो संस्कृति र मौलिकतालाई पुनर्ताजगी गराउनुका साथै चलचित्र ‘पर्व’ प्रदर्शन बाट आम्दानी भएको रकम जिग्री पाँडे प्रतिष्ठान नेपालले दृष्टि विहीन असाहय परिवारका लागि सप्तरीमा निर्माण गर्न लागेको आवास परियोजनाका लागि सहयोग गरिने सोलमारी ग्रुपका अध्यक्ष पुस्करजंग थापाले जानकाकरी दिए ।

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनले यस अगाडि ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् । सुवास गिरी र निकिता पौडेल यो चलचित्रका निर्माता हुन् ।

गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । निश्चल बस्नेतले अभिनय गरेको र गाएको गीत ‘काले दाई..’ चलचित्र पर्वको शीर्ष गीत हो । नेपालका ७७ वटा हलमा प्रदर्शन भैरहेका चलचित्र ‘पर्व’ले सुरुवातमा नै सन्तोषजनक ब्यापार गरेको निर्माण पक्षले बताएको छ ।

केही समय पर्दा पछाडी रहेकी नायिका नम्रता श्रेष्ठ यस चलचित्रमा मुख्य पात्रका रुपमा भएका कारण दर्शकहरुमो रोजाइमा पर्न सफल भएको अनुमान गरिएको छ ।

चलचित्रमा नायिका नम्रताको साथमा नायक कोसिस क्षेत्रीको राम्रो जोडी देख्न सकिन्छ । त्यसका साथै नयाँ शैलीको निर्माण र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् । व्यवसायिक तथा दर्शकको रुचि दुवै पक्षवाट नेपालमा राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र ‘पर्व’ले नेपाल बाहिर पनि नेपाली दर्शक हरुको मन जित्न सक्ने विश्वास रहेको निर्देशक राउतले बताए ।

जुन ४ तारिख आईतवार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा हुने चलचित्र ‘पर्व’को विशेष प्रदर्शनमा चलचित्रका निर्देशक दिनेश राउतको पनि उपस्थिति हुने भएकाले दर्शकहरुले निर्देशक राउत सँगै बसेर सिनेमा हेर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?