जापानी समाजसेवीले खोलेको इवामुरा अस्पतालले गर्यो पित्तथैलीको शल्यक्रिया शिविर

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ ।

आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत मारिकुले आर्थिक अभाव र जनचेतना नहुँदा वर्षौंदेखि पित्तथैलीको पत्थरीको समस्या लिएर बसेका बिरामीको उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको बताए ।

गत वैशाख १५ गतेदेखि एक महिने शिविर सञ्चालन गरेकोमा बिरामीको चाप बढेपछि असार १५ गतेसम्मका लागि शिविर थप गरेको उनले जानकारी दिए ।

अत्याधुनिक दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया शिविरमा बिरामीको चाप बढेपछि अस्पतालले एक महिना शिविर थप गरेको उहाँले बताउनुभयो । शिविरमा एक महिनाको अवधिमा २० जनाको पित्तथैलीको शल्यक्रिया भएको छ ।

शिविरमा भक्तपुरलगायत धादिङ, झापा, गोरखा, जनकपुर र बुटवलका बिरामी आएको बताउँदै अस्पतालका अर्का व्यवस्थापक जीवन मारिकुले शिविरमा चार जना विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा पुर्याएको बताए ।

शिविरमा आउनेमा ८० वर्ष उमेर माथिका बिरामीको सङ्ख्या धेरै रहेका छन् । अस्पतालले छुट्टै डेक्स नै स्थापना गरेर जनचेतना एवम् परामर्शसमेत दिन थालेको व्यवस्थापक मारिकुले जानकारी दिए ।
अस्पताल जापानका समाजसेवी डा. इवामुराको पहलमा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?