नेपाली दूतावासको गुनासो– नेपालीले धेरै राजनीति गरे, जापान प्रहरीलाई के जवाफ दिने ?

जापानमा नेपालीहरुले खोलेका संघसंस्था कति होलान ? जापानमा नेपालीहरुको बढ्दो आवतसँगै नेपालीहरुको संघ संस्थाहरु पनि ह्वात्तै बढेका छन् । अध्ययन र रोजगारीका लागि अहिले नेपालीहरुका लागि जापान सुनौलो गन्तब्य हुन थालेको छ ।

पछिल्लो समयमा जापानमा नेपालीहरुको संख्या अत्याधिक बढेको छ । नेपालीहरुको जापान आवत बढेसँगै विभिन्न खाले समस्याहरु समेत पैदा हुन थालेका छन् ।

जापानस्थित नेपाली दूतावासले नेपालीहरुको बढ्दो गतिविधिप्रति चासो देखाउन थालेको छ भने विसंगतिहरुप्रति चिन्ता ।

जापानको कानुन प्रतिकुल रहनेगरि नेपालीहरुले संघसंस्था खोल्ने क्रम बढेसँगै यसले समस्या उत्पन्न हुनसक्ने प्रति जापानस्थित नेपाली दूतावासले चासो देखाएको छ । नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘पत्रकार र संघसंस्थाबीच सहकार्य’ विषयक अन्तरक्रियामा राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपालीहरुद्वारा सञ्चालित केही संघ संस्थाहरु कानुन विपरित भएकाले भविष्यमा समस्या आउन सक्ने बताए ।

अर्यालले यस्ता संस्थाहरुका कारण दूतावासलाई समेत केही समस्या परेको गुनासो गरे । उनले जापान प्रहरीले बेला बेलामा दूतावाससँग नेपाली संघ संस्थाका गतिविधिका बारेमा सोधपुछ गर्ने गरेको उल्लेख गर्दै जापानलाई राजनीतिको थलो नबनाउन आग्रह गरे ।

अर्यालले केही व्यक्तिहरुको निहित स्वार्थका लागि नेपालीहरुले आफ्नो स्वाभिमान र अस्तित्व गुमाउन नसक्ने बताए । अर्यालले जापानमा रहेका हरेक नेपालीहरुको सुख, दुःखमा दूतावासको साथ र सहयोग रहेको पनि बताए । उनले दूतावासले जापानमा रहेका प्रवासी नेपालीहरुको अभिभाकत्व ग्रहण गर्दै दूतावासले काम गरिरहेको पनि बताए ।

कार्यक्रममा एनआरएन जापानका अध्यक्ष सुदन थापाले पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या दर बढीरहेको प्रति चिन्ता व्यक्त गरे । उनले जापानमा क्रियाशील सामाजिक संघ संस्थाहरुले यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । थापाले समाज सेवाका लागि भन्दै धेरै संघ संस्थाहरु खोलिएको उल्लेख गर्दै ति संस्थाहरुको वास्तविकतामा त्यस्तो काम गर्न नसकेको पनि बताए ।

थापाले काम गर्न नसक्ने संस्थाहरुले अनावश्यक राजनीति नगर्दा नै उत्तम हुने बताए । थापाले पछिल्लो समयमा नेपाली समुदायबाट खोलिएका संस्थाहरुले राजनीतिक रंगका आधारमा काम गर्न थालेको र यसले एकताबद्ध रुपमा रहेको नेपाली समुदायलाई विभाजित गर्न खोजेको गुनासो गरे ।

उनले राजनीति भन्दा माथि उठेर नेपालीत्वको भावनामा अघि बढ्न सबै संघ संस्थाका प्रतिनिधिहरुलाई आग्ह समेत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य पवन वर्षा शाहले पत्रकार महासंघ जापान शाखाले गरेको अन्तरक्रियाले नेपाली समुदायलाई थप बलियो र एकताबद्ध बनाएको बताइन् ।

उनले जापानमा क्रियाशील पत्रकारहरुले नेपाली समुदायका गतिविधि, पिर मर्का र अवस्थाका बारेमा समाचार प्रकाशीत गरेर आम नेपालीलाई जानकारी दिलाएको बताउँदै जापानमा रहेका पत्रकारहरुको प्रशंसा गरिन् । उनले जापानमा रहेका संघसंस्थाहरुलाई स्थानीय मौजुदा कानुनको अधिनमा रहेर गतिविधि गर्न आग्रह गर्दै आफ्ना गतिविधिका बारेमा पत्रकारहरुलाई समेत जानकारी दिलाउन आग्रह गरिन् ।

उनले जापानमा रहेका नेपाली समुदायका अगुवाहरुलाई राजनीतिक गन्ध आउने गतिविधि नगर्न आग्रह गर्दै प्रवासी नेपालीको हितलाई मात्र आफ्नो लक्ष्य बनाउन आग्रह गरिन् । कार्यक्रममा नेपाल सरकारका अवैतनिक पर्यटन दूत अनुज थापाले नेपाल पर्यटनका लागि सम्भावना बोकेको मुलुक भएकाले जापानीहरुलाई नेपाल धुम्न पठाउनका लागि प्रवद्धनात्मक कार्यक्रम गरिनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको अन्तरक्रियामा जापानमा क्रियाशील अधिकांश संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२८ भन्दा बढी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । हाल जापानमा करिब ७० हजार नेपालीहरु रहेका छन् भने एनआरएनए जापानका अनुसार नेपालीहरुद्वारा सञ्चालिक करिव १२० संघ संस्था क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?