जापानीका प्यारो सम्राट अकिहितोः गद्दी त्यागको अन्तिम मस्यौदा अघि बढ्यो

काठमाडौं । जापान सरकारको मन्त्रिपरिषद्ले सम्राट अकिहितोलाई गद्दीत्याग गर्ने अनुमति दिने सम्बन्धी एक विधेयक स्वीकृत गरेको छ । अब संसदको माथिल्लोसदनबाट यो विधेयक पारित भएमा ८३ वर्षीय सम्राटले अवकाश पाउने बाटो खुल्ने छ ।
अघिल्लो वर्ष ८३ वर्षीय वृद्ध सम्राटले उमेर र स्वास्थ्यका कारण आधिकारिक कर्तव्य पूरा गर्न आफूलाई गाह्रो परिरहेकाले अवकास लिन चाहेको बताएकाथिए ।

सम्राटले अवकास लिन चाहे पनि जापानको विद्यमान कानूनअनुसार उनलाई गद्दीत्याग गर्न र उनको ठाउँ युवराज नारुहितोले लिनका लागि कुनै प्रावधान थिएन ।

अब यो विधेयक संसदमा पेश भएको छ र पारित हुने अपेक्षा गरिएको छ । सरकारले सबै राजनीतिक दलहरुको सहमतिमा योविधेयक दर्ता गराएको हो । यस अघि संसदका विभिन्न समितिहरुमा यो विधेयकका बारेमा दफावार छलफल भएको थियो ।

सन् १८१७ मा सम्राट कोकाकुपछि जापानी राजाले गद्दीत्याग गर्न लागेको यो नै पहिलो अवसर हो ।

मन्त्रिपरिषद्का सचिव योशिहिदे सुगाले सरकार ‘विधेयक सजिलै पारित हुने अपेक्षा राख्छ’ भनेका छन् ।

अकिहितोको मुटुको शल्यक्रिया भइसकेको छ र प्रोस्टेट क्यान्सरको पनि उपचार चलिरहेको छ । उनी आफ्ना पिता हिरोहितोको मृत्युपछि सन् १९८९ देखि गद्दीमा छन् र धेरै जापानीले उनलाई श्रद्धा गर्छन् ।

विधेयक पारित भएमा सरकारले गद्दीत्यागको मिति घोषणा गर्नेछ र त्यो मिति डिसेम्बर २०१८ हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?