आज टोकियोमा ‘धुर्मुस सुन्तली साँझ २०१७’ हुँदै, सम्पुर्ण तयारी पुरा

टोकियो । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को सम्मानमा आज जापानको टोकियोमा अभिनन्दन गरिंदै छ । सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीलाई जापानको टोकियोस्थित नकानो जिरो हलमा सनराईज कर्पोरेसन् लिमिटेड जापानले अभिनन्दन गर्न लागेको हो ।

भूकम्प पीडित र अति विपन्न तीन छुट्टाछुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर प्रशंसा बटुलेका कलाकारलाई अभिनन्दनका साथै धुर्मुस सुन्तली फाउण्डेसनको सहगोगार्थ ‘धुर्मुस सुन्तली साँझ २०१७’ कार्यक्रमको समेत आयोजना गरिने छ ।

शनिबार मात्रै आयोजकले कलाकार सहित पत्रकार सम्मेलन गरेको थियो ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्य प्रहसन प्रस्तुत गर्ने छन् । तीन वटा एकीकृत नमुना बस्ती निर्मणका क्रममा आइपरेका अप्ठ्याराहरु र भावी योजनाका बारेमा जापानमा रहेका नेपालीहरुलाई जानकारी दिने छन् ।

कार्यक्रममा चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसी र चर्चित पप गायक दीपक बज्राचार्यले लगायत कलाकारहरुले पनि सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

कर्पोरेसनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रमको अर्को उदेश्य धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने रहेको बताए ।

कर्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनलाई प्रत्यक्ष आर्थिक सहयोग गर्न पनि सकिने आयोजकले जनाएको छ । जापानमा रहेका नेपालीहरु धुर्मुस–सुन्तलीको हास्य प्रहसन हेर्न निकै आतुर देखिएका छन् ।

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र निर्धारित समयमै कार्यक्रम भब्य रुपमा सुरु हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?