टोकियो ओलम्पिक खेलकुद अवधिभर सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउन दवाव

जापान । विश्व स्वास्थ्य संगठनका एक वरिष्ठ अधिकारीले सन् २०२० मा आयोजना हुने टोक्यो ओलम्पिक खेलकुदलाई सफलतापुर्वक सम्पन्न गर्न जापानले सार्वजनिक स्थानहरुमा धुमपान बन्देज गर्नुपर्ने बताएका छन् ।
जापानलाई अक्सर धुमपान गर्नेहरुको स्वर्गको रुपमा लिईने गरिन्छ जहाँ धुमपान गर्दा कुनैप्रकारको कानुन लाग्दैन । तर सार्वजनिक स्थानमा खुल्लमखुल्ला धुमपान गर्दा २०२० मा आयोजना हुने ओलम्पिक खेलकुदमा केहि असर गर्न सक्ने भन्दै ओलम्पिक आयोजक समिति चिन्तित देखिएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले गाँजा, चरेस, तमाखु लगायतका लागुपदार्थहरु सेवन बन्देज गर्ने विषयमा केहि नियमहरु निर्माण गर्न लागिरहेको बेला सुर्तीजन्य लागुपदार्थहरु उत्पादन गर्ने कम्पनीहरुले विरोध गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि ओलम्पिक खेलकुदलाई सुर्तीजन्य पदार्थको धुवाँ मुक्त बनाउने भनेर सन् २०१० मा नै प्रतिवद्दता जनाएका थिए ।
जुन प्रतिवद्दता ओलम्पिक खेलकुद आयोजक राष्ट्रहरु चीन, रसिया र ब्राजिलले लागु गर्दै आईरहेका छन् । त्यसैले विश्व स्वास्थ्य संगठनले जापानमा पनि त्यो प्रतिवद्दता लागु हुनुपर्ने विचार व्यक्त गरेको हो ।
विश्व स्वास्थ्य संगठनका अधिकारि डोग्लास बेत्चारले ओलम्पिक खेलकुद आयोजना भएको समयमा जापानमा घुम्न आउने पर्यटक देखि खेलप्रेमीहरु स्वस्थ वातावरण तथा धुँवा रहित सहर चाहने हुँदा जापानले सार्वजनिक स्थानमा हुने खुल्ला धुमपानलाई रोक्न पर्ने विचार व्यक्त गरेका छन् ।
जापानी जनतालाई डरलाग्दो धुमपान र लागुपदार्थ सेवनको लत बाट जोगाउने सुनौलो अवसर प्राप्त भएको भन्दै ओलम्पिक खेलकुदको प्रतिवद्दता पत्रलाई लागु गर्न पनि बेत्चारले आह्वान गरेका छन् ।
तर जापान सरकारले धुमपान बन्देज गरेमा सरकार कमजोर हुने धारणा सार्वजनिक गरेको छ । सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरु जापानको वार्षिक बजेटको तेस्रो ठुलो आयस्रोत भएको हुँदा त्यसलाई बन्देज गर्दा सरकारको वार्षिक बजेटमा प्रभाव पर्ने जापान सरकारले जनाएको छ ।

अर्थमन्त्री तारो आसोका अनुसार १९ विलियन डलर कर वार्षिक रुपमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले जापान सरकारलाई तिर्ने भएको हुँदा सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाउँदा सरकारको आर्थिक व्यवस्थामा नराम्रो असर पर्ने बताएका छन् ।
साथै ओलम्पिक आयोजक समिति टोक्योले भने ओलम्पिक खेलकुद आयोजना अवधिभर क्याफे, रेष्टुरेन्ट लगायतका स्थानहरुमा धुमपान बन्देज लगाईने बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अधिकारि बेत्चारका अनुसार जापानले आफ्नो वार्षिक बजेटमा पर्न सक्ने प्रभाव भन्दा पनि आफ्ना जनताहरुमा धुमपानले पर्न गएको असरलाई मध्य नजर गर्दै योजना बनाउनुपर्ने समेत बताएका छन् ।साथै सरकारले धुमपान गर्न उत्प्रेरित गर्ने मिडिया प्रचारप्रसार भन्दा पनि धुमपानका कारण स्वास्थ्यमा पर्न सक्ने असर बारे सचेतना फैलाउनुपर्ने बेत्चारले बताएका छन् ।जापानमा वार्षिक रुपमा १५००० मानिसहरु विशेष गरि महिला र बालबालिका सुर्तीजन्य पदार्थको सेवनबाट मर्ने गरेको जापान सरकार र विश्व स्वास्थ्य संगठनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?