नेपालमा पर्यटन प्रवद्धनका लागि जुटे जापानबासी नेपाली, विज्ञ भन्छन्–देश विकासको मेरुदण्ड पर्यटनलाई बनाऔं

टोकियो । नेपालको आर्थिक विकासका लागि तत्काल के गर्न सकिन्छ ? आन्तरिक रुपमा नेपालमा विभिन्न योजनाहरु बनिरहे पनि प्रभावकारी हुन सकेको छैन । यस्तोमा प्रवासमा रहेका नेपालीहरुले देशको आर्थिक विकासका लागि गर्न सकिने कामका बारेमा समिक्षा थालेका छन् । जापानमा आयोजित एक अन्तरक्रियामा सहभागिहरुले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष निकालेका छन् ।
सुदुरपश्चिमेली नेपाली समाज जापानद्वारा आइतबार टोकियोको इचिगाया स्थित जाईका केन्द्रमा आयोजित नेपालको आर्थिक समृद्धिको लागि पर्यटन बिषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन व्यवसायमा लामो अनुभव संगालेका पर्यटन व्यवसायी संजिव खनालले पर्यटन प्रबर्द्धनका लागि नेपालका पर्यटकीय स्थलहरुको बारेमा वेबसाइटहरुको निर्माणमा जोड दिए ।

खनालले ८३ प्रतिशत पर्यटकहरु इन्टरनेटका माध्यमद्वारा नेपाल पुगेको उल्लेख गर्दै नेपालका सम्भावित पर्यटकीय स्थलहरु अझै ओझेलमा परिरहेको टिप्पणी गरे।

स्वास्थ्य पर्यटनमा अनुभवी बिष्णु खनालले स्वास्थ्य पर्यटनले भारतीय पर्यटकलाई आकर्षण गर्न सकिनेमा जोड दिए । उनले भारतलाई मात्र लक्षित गरि पर्यटन प्रबर्धन गर्नसके पनि नेपालको आर्थिक समृद्धिमा प्रभाव पुग्ने बताए ।

पर्यटन सम्बन्धि अनुभव संगालेका आशिष रावलले सुदुरपश्चिमको पर्यटकीय स्थलहरुको बारेमा चर्चा गरे भने भुवन शंकर भट्टले सुदुरपश्चिमकै दार्चुला जिल्लाको पर्यटकीय संभावनाहरुको अध्ययन गरि बनाइएको आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका विश्वेश्वर रेग्मीले श्रीलंका पर्यटन व्यवसायले समृद्ध बनेको टिप्पणी गर्दै जापानी पर्यटकलाई नेपालप्रति आकर्षित गराउन सकिने संभावित माध्यम सहितको आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका प्रतिनिधि रेवन्त केसीले नेपालको पर्यटनका लागि दुतावासले पनि पहल गरिरहेको बताउदै सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्नेमा जोडदिए ।

पर्यटन दुत तथा एनआरएनए जापानका महासचिब अनुज थापाले नेपालको पर्यटन प्रबर्द्धनका लागि जापानका सबै संघ संस्थासँग सहकार्यको खाँचो औल्याए ।

अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष भरत नेगीले नेपालको आर्थिक समृद्धिको प्रभावकारी क्षेत्र पर्यटन व्यवसाय भएको धारणा राखे ।

कार्यक्रम आयोजक संस्था सुदुरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले समाजले पर्यटन प्रबर्द्धनका कार्यक्रमलाई जोडदिने बताए । कार्यक्रममा विभिन्न संघ ,संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?