जापानमा जादु देखाउन यू–१२ का नेपाली फुटबल खेलाडी आतुर

जापान ।  जापानमा शुक्रबार सुरु हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमले गतिलो प्रस्तुति दिने अपेक्षा गरिएको छ । नेपाली यू–१२ टिमले कोपा पुमा टोरेरोस कप यू–१२ फुटबलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा रहेकाले उक्त अपेक्षा गरिएको हो ।

नेपाली युथ खेलाडीलाई पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र राजेन्द्र तामाङले बिहीबार दिनभर प्रशिक्षण व्यस्त बनाए । यद्यपि गत वर्ष १८ औं स्थानमा परेको नेपाली टिमको यसपल्ट राम्रो प्रयास रहने भए पनि उपाधि नजिक नरहेको प्रशिक्षक वसन्तको भनाइ छ ।
वसन्तले कमजोर भए पनि नेपाली खेलजगतको हौसला र बालबालिकालाई फुटबलप्रति आकर्षित गराउन आफू कार्यरत जापान एकेडेमीको सहयोगमा १२ खेलाडीलाई प्रतिस्पर्धामा उतार्न लागेको बताएका छन् । अंकका आधारमा विजेता घोषणा गरिने यो प्रतियोगितामा आक्रामक वा मैत्रीपूर्ण जुनसुकैमा पनि उत्कृष्ट प्रस्तुति भएमा उपलब्धि टाढा नरहेको प्रशिक्षक राजेन्द्र बताउँछन् ।
टिम ल्याउन सक्रिय भूमिका निभाएका व्यवसायी प्रकाश तुलाचनले बुटवल, भैरहवा, पोखरा, काठमाडौं लगायत ठाउँका ५ सयभन्दा बढीबाट १२ खेलाडी छनोट गरिएको जनाए ।
नेपाली टिमले ब्राजिल, स्पेन, अस्ट्रेलिया, जर्मनी लगायतका देशका टिम १२ तथा जापानका स्थानीय २० टिमसँग प्रतिस्पर्धाको अवसर पाउने वसन्तले जनाए ।
प्रतियोगिता राजधानी टोकियोबाट झन्डै साढे ४ घण्टा दक्षिण–पश्चिममा पर्ने सिजुओका प्रान्तको खामीयामास्थित गोतेन्बा मैदानमा हुनेछ ।

नेपाली खेलाडीको सहयोगार्थ बुधबार साँझ सिनओकुबोमा आयोजित च्यारिटी सोमा सहभागीले बालखेलाडीलाई बधाई र हौसला दिएका थिए ।
कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सघंका अध्यक्ष सुदन थापा, विभिन्न सघंसस्था र राजनीतिक भातृ संगठनका पदाधिकारीले सानै उमेरमा अभिभावक छाडेर जापानमा खेल्न आएकामा उनीहरूको प्रशंसा गर्दै जोसिलो प्रदर्शन गर्न हौसला दिए ।
गत वर्ष नेपाली खेलाडीले स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको हर्था बर्लिन, मेक्सिकोको चिभास, दक्षिण कोरिया, हङकङ र जापानी टोलीसँग भिडेका थिए । विजेताले युरोपमा हुने यू–१२ मा भाग लिन पाउने प्रावधान छ ।कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?