टोकियो आइपुगेका गभर्नर नेपालको आह्वान–सहुलियत ऋण दिन्छौं, नेपाल फर्कनुस्

टोकियो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले जापानमा सिकेको सिप र कमाएको सम्पत्ती नेपालको आर्थिक विकासमा उपयोग गर्न आग्रह गरेका छन ।

एनआरएनको क्षेत्रीय सम्मेलनमा सहभागी भएर जापान आइपुगेका गभर्नर नेपालले जापान सन्देशसँग विशेष कुराकानी गर्दै जापानमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपालीहरुलाई देश विकासमा लगानी गर्न आग्रह गरेका हुन् ।

गभर्नर नेपालले रेमिट्यान्स मार्फत् नेपाललाई समृद्ध बनाउनका लागि भूमिका खेलेका नेपालीहरुले अब विकास साझेदार बन्नुपर्ने बताए ।

उनले यति टाढा आएर पनि मुलुक विकासमा सहयोग गर्ने नेपालीहरुले अब स्वदेशमा नै गएर विकास निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिए ।

गभर्नर नेपालले जापानमा विजनेश भिषामा आएर बसेका नेपालीहरुलाई जापानमा पैसा र सिप कमाएर त्यसको लगानी नेपालमा गर्न आह्वान गरे ।

विदेशमा नेपालीले कमाउको रकम प्रयाप्त मात्रामा नेपाल नगएको बताउँदै नेपालले हुण्डी र व्यक्ति, मार्फत् पैसा नपठाउन आग्रह समेत गरे । पैसा देशमा पठाउन बैकिङ कारोबार गर्न नेपालले आग्रह गरेका छन् ।

विदेशमा नेपालीले गरेको लगानीका बारेमा राष्ट्र बैंकले लागत राख्ने बताउँदै नेपालले यसका लागि निवेदन दिन आग्रह पनि गरे ।

गभर्नर नेपालले आर्थिक तरलता सकिएको बताउँदै अर्थतन्त्र सहज बनेको तर बीचमा केही समस्या उत्पन्न भएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा मार्फत् सबै समस्या समाधान गरिसकेको बताए ।

नेपालको अर्थतन्त्र एकदमै राम्रो अवस्थामा रहेको र एक हजार ७७ अर्ब विदेशी रकम सञ्चित रहेको जानकारी दिए । नेपालले व्यापार घाटाले समस्या पारिरहेको बताउँदै यो घटाउन विदेशमा काम गर्ने नेपालीहरुले नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले लगानीको वातावरण बनाइरहेको र व्याजदर तथा अनुदानको व्यवस्था पनि मिलाइएको बताउँदै उनले एक प्रतिशत व्याजदरमा सहलियत ऋण दिइने भएकाले केही रकम जम्मा गरेर नेपाल फर्किएर व्यापार व्यवसाय थाल्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?