नागढुंगा–सिस्नेखोला सुरुङमार्गको डिपिआर बनाउने जिम्मेवारी जापानी कम्पनीलाई, यस्तो बन्नेछ सुरुङमार्ग

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बनाउन जापानी कम्पनी छनोट भएको छ । कम्पनीसँग अर्को साता सम्झौता गर्ने तयारी भएको छ ।

सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जापानी कम्पनीसँग सुरुङमार्ग निर्माणको डिपिआर बनाउन सम्झौता हुन लागेको बताए ।

‘सुरुङमार्ग निर्माणको कामले गति लिएको छ । डिपिआर निर्माणका लागि कन्सलटेन्ट कम्पनी छनोट भइसकेको छ,’ श्रेष्ठले भने, ‘अबको १० दिनभित्र सोही कम्पनीसँग सम्झौता गर्न सबै प्रक्रिया पूरा भइसकेको छ ।’

एक वर्षभित्र सुरुङमार्ग निर्माणको डिपिआर तयार गर्ने गरी सम्झौता हुन लागेको हो । यसबीचमा सुरुङमार्ग निर्माणको टेण्डर सम्झौतासमेत हुने भएको छ । ‘डिपीआर एक वर्षभित्र बनिसक्नेछ । त्यतिबेलासम्ममा सुरुङ मार्ग निर्माणको टेण्डर आह्वान तथा ठेक्का सम्झौता पनि भइसक्नेछ,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘ठेक्का सम्झौता भएको साढे तीन वर्षमा सुरुङ मार्ग निर्माण भइसक्ने छ ।’

सुरुङ मार्ग काठमाडौंको नागढुंगाबाट नेपाल आयल निगमको डिपोबाट सुरु भएर धादिङको सिस्नेखोलामा टुंगिनेछ । सुरुङ मार्गको कुल लम्बाई ४.५१ किलोमिटर हुनेछ । तर, सुरुङको भाग भने २.४५ किमि मात्र हुने सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न १६ अर्व रुपैयाँ लाग्ने अनुमान छ । निर्माणमा लाग्ने सबै खर्च दातृ निकाय जापान इन्टरनेश्नल कर्पोरेशन एजेन्सि(जाइका)ले ब्यहोर्ने छ । सडक विभागको बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले भने, ‘जापान सरकारको सहयोगमा सुरुङ मार्ग निर्माण गर्न लागिएको हो ।

कन्सल्टेन्ट र कन्ट्रेक्टर नेपाल सरकारले नै व्यहोर्ने भनिएको छ । हामी सक्षम छौं । सम्पूर्ण काम हामी नै गर्नेछौं । काम तोकिएकै समयमा पुरा हुनेछ ।’ सुरुङमार्ग निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जाको खर्च भने नेपाल सरकारले व्यहोर्ने छ ।

सुरुङ मार्ग तीन लेनको हुने छ । उपत्यका प्रवेश गर्ने सवारी साधान दुई लेनबाट र बाहिरिने सवारी साधान एक लेनबाट गुड्ने छन् । महाशाखा प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनमा ‘टोल ट्याक्स’ उठाउने प्रणाली राखिने छ । प्रत्येक बसबाट बढीमा २५ रुप्रयाँको दरले टोल ट्याक्स उठाइने छ । सुरुङ मार्ग निर्माणपछि उपत्यकाबाट बाहिरिंदा र भित्रिँदाको ट्राफिक समस्या सत प्रतिशत नियन्त्रण हुने सडक विभागको दाबी छ ।

०.०१ प्रतिशत ऋणमा सुरुङ मार्ग निर्माण
सडक विभागका अनुसार सुरुङ मार्ग निर्माण गर्न १६ अर्व रुपैयाँ लाग्ने अनुमान छ । यो रकम ०.०१ प्रतिशत व्याज दरमा जापान सरकारले ऋण सहयोग दिन लागेको हो । ४० वर्षभित्र यो रकम चुक्ता गर्नुपर्ने विभागले जनाएको छ ।

नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?