जापानको राष्ट्रिय फूल साकुरा अब नेपालमा

 

काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपिएको छ ।

जापानमा २० वर्षअघि ठूलो भूकम्प जाँदा शान्ति र स्थिरतालाई लक्ष्य गरी साकुरा रोप्ने अभियानमा लाग्नुभएकी योशिओका स्योकोले नेपालमा पनि यो फूलको उद्यान बनाउने उद्देश्यले आउनुभएको कार्यक्रममा जानकारी गराइयो । नेपाल पनि २ वर्षअघिको ठूलो भूकम्पपछि पुनर्निर्माणका क्रममा रहेकाले फूलले शान्तिको सन्देश फैलाउन सहयोग मिल्ने उहाँले बताउनुभयो ।

एनजिओ नेपाल डिजास्टर रिलिफ प्रितम एक्टिभ ग्रुपको सहयोगमा जापानबाटै साकुराको बिरुवा ल्याई रोपिएको स्मारकअन्तर्गतको जैविक विविधता वन वातावरण समितिका प्रमुख राजेश बिष्टले बताउनुभयो । धेरै प्रकारका साकुरा भए पनि जापानबाट दुई प्रकारका ल्याई रोपिएको छ । मार्च–अप्रिलमा दुईदेखि तीन हप्ता फुलेपछि यो फूल हरियो पातमा परिणत हुने र त्यो पातलाई खानेकुरा एवम् औषधिका रुपमा समेत प्रयोग गर्न सकिने जनाइएको छ ।

वृक्षरोपण कार्यक्रममा काठमाडौँका सहायक जिल्ला वन अधिकृत अनिल रेग्मीले नेपालमा भएको भूभागभन्दा बढी वृक्षरोपण गरेको तथ्याङ्क वन तथा भूसंरक्षण मन्त्रालयसँग रहे पनि स्थलगतरुपमा अनुगमन गर्दा बिरुवा हुर्केको नदेखिने गरेको बताउनुभयो ।

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले रोपिएका ६० वटै साकुराका बिरुवा संरक्षणका लागि कर्मचारी खटाई उचित रेखदेख एवम् गोडमेलको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । बिरुवामा रोप्नेकै ट्याग लगाई उसैले संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको इन्टरनेसनल सेवा सोसाइटीका अध्यक्ष प्रितम गोलेले जानकारी दिनुभयो ।

विसं २०७१ देखि सुरु भएको वन दशक २०८० सालमा सकिनेछ । नेपाल र जापानबीच दौत्य सम्बन्ध कायम भएको ६०औँ वर्षका अवसरमा मित्रता थप बलियो होस् भन्ने कामना गर्दै नेपालमा साकुरा फूलको उद्यान बनाउन लागिएको सो अवसरमा जानकारी गराइयो ।

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत विसं २०६४ देखि गोकर्णमा स्मारक निर्माण भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?