जापानको नागानोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु, दुई अचेत

टोकियो । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको पुष्टि भएको छ । अन्य दुई जना भने अचेत अवस्थामा रहेका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार आइतबार अपराह्न ३ः१० मा प्रहरीले दुर्घटनाग्रस्त सो विमान फेला परेको जनाइएको छ । सो हेलिकोप्टरमा सवार रहेका अन्य चार जना व्यक्तिको पनि प्रहरीले खोजी कार्य जारी राखेको जनाइएको छ ।

स्थानीय सरकारको स्वामित्वमा रहेको यो हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भएको स्थानीय समाचारदाताहरुले जनाएका छन् ।

एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको दुर्घटनाग्रस्त सो सानो वायुयान र यस सम्बन्धी समाचारको विस्तृत विवरण भने प्राप्त भइनसकेको जनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?