जापानले विद्यार्थी र कामदार भिषा सहज बनाउँदै, यस्तो छ प्रधानमन्त्री कार्यालयको तयारी

टोकियो । श्रम बजारमा रहेको अभाव पूर्ति गर्न जापानले अन्तर्राष्ट्रिय जनशक्ति ल्याउने गरी आप्रवासी कानुनमा प्रक्रियागत सुधारको तयारी गरेको छ । 

जापानको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको र वृद्धवृद्धाको सङ्ख्या बढी रहेका कारण त्यसबाट जापानी अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय श्रम बजारबाट त्यसको अभाव पूर्ति गर्न लागिएको  छ |

सन् २०१७ मा जापानको जनसङ्ख्या वृद्धिदर  ०.१२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिजका उपाध्यक्ष तथा जापान सरकारको मन्त्रिपरिषद्का विशेष सल्लाहकार प्राडा आत्सुसी सुनामीले त्यसका लागि भिसा प्रणालीमा परिवर्तन गरेर प्रतिस्पर्धी मानिसलाई ल्याउने तयारी सरकारले गरेको जानकारी दिए  ।
एसियाली उत्पादकत्व सङ्गठन (एपीओ) को आयोजनामा भएको एसियाली देशका सञ्चारकर्मीहरूको अध्ययन भ्रमणका क्रममा विशेष कार्यपत्र प्रस्तुत गर्दै उनले  विद्यार्थी र दक्ष कामदार ल्याउन प्रक्रियागत सरलीकरण गर्दा आइपर्ने समस्या र सम्भावनाबारे अन्तरमन्त्रालय अध्ययन भइरहेको उल्लेख गरे  ।

उनका  अनुसार त्यसका लागि न्याय मन्त्रालय, सांसदहरू र अध्यागमन कार्यालयका बीच परामर्श भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?