जापानलाई चुनौति दिदै ट्रम्पले गरे टिपिपी खारेजीमा हस्ताक्षर, जापानसँग अब कस्तो रहला सम्बन्ध ?

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौताबाट बाहिर निस्कने सम्बन्धी कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको पटक पटकको आग्रह विपरित ट्रम्पले टिपिपी बाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका हुन् । ट्रम्प निर्वाचित हुने वित्तिकै दुई पटक आबेले उनलाई भेटेर सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए ।
चुनावी अभियानको बेला नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाएका थिए । टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार मानिएको थियो ।

तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गरेका हुन् । टिपिपीमा १२ देश सहभागी थिए ।

जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहितका देशसँग आर्थिक सहकार्य बढाउने उद्देश्यले ओबामाले टिपिपी सम्झौता गर्नुभएको थियो ।

यसमा सबै काममा श्रमिकको हित, वातावरणीय संरक्षण, प्रतिलिपि अधिकार, पेटेन्टसहितका अरु कानुनी कुराको रक्षा गर्ने उल्लेख थियो । तर ट्रम्पले भने टिपिपीले गर्दा अमेरिकामा भविष्यमा गम्भीर अप्ठ्यारो पर्ने बताएका थिए ।

टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारको हितमा आफुले पहिलो कदम चालेको र यस्ता धेरै कदम चाल्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?