हामी नेपाली प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण भएपनि सहि सदुपयोग र परिचालन गर्न नजानेर सिरानीमा सुन राखेर नुन खोजीमा भौतारिरहेका जस्ता भएका छौ । विदेशिएका नेपालीहरुको जीवन पलपलमा मृत्यु र पैसाको पौठेजोरी गर्दै बितिरहेको प्रतित हुन्छ ।
नेपालबाट जुन सपना बुनेर विदेश पुगिएको हुन्छ तर विदेशमा पुग्ने वित्तिकै तनाव र दुखका दिनहरु सुरु हुन थाल्छ । विदेशमा विशेष गरि हुने भाषाको समस्याको कारणले नेपालीहरुलाई समस्या हुनेगर्छ ।
नेपालमा जसरि म्यानपावर एजेन्सी देखि परामर्शदाताहरुले विदेशमा यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर आश्वासन दिएका हुन्छन् विदेश पुगेपछि त्यो धेरै मात्रामा झुट सिद्द हुन पुग्छ । कन्सल्टेन्सीका मान्छेहरु मानव श्रमको व्यापार गरेर पैसा कमाउने खुनिहरु जस्तो भान विदेशको काम गर्ने कम्पनीहरुमा काम गर्न थालेपछि विस्तारै आभाष हुनेगर्छ ।
दलालहरुले भनेको जस्तो सजिलो गरि विदेशमा पैसा कमाउन नसकिने वातावरण देखेपछी उनीहरुको भनाई ८० डिग्री फरक परेको भान विदेशिएका नेपालीहरुलाई हुने गर्छ ।
नियमित कडा ड्युटी अनि थोरै पैसाको लागि पनि निन्द्रा, भोक, प्यास दौडधुप नेपालीहरुलाई असामान्य जस्तो लाग्छ । गाउँ घरका बाँझा खेत र खलियान अनि नेपालमा बरालिएर हिडिरहेका दिनहरु सम्झिदा मन हुँडलिएर आउने गर्छ । सपनाको परिकल्पनामा समुन्द्र पार गरेर आएका नेपालीहरुको सपनामा विस्तारै विस्तारै काला बादलहरु मडारिन थाल्छन् ।
नेपालबाट आउँदा यति र उति कमाईएला भन्ने आशामा आईएको हुन्छ तर त्यस्तो स्थिति नहुँदा मान्छे निराश हुदै उसको सपनामा तुषारापात पर्न सुरु भैहाल्छ । तैपनि मानिसले अन्तिम अवस्थासम्म समस्या संग जुधिरहेको हुन्छ । तर अन्त्यमा कतिपयको धैर्यता टुट्छ अनि हतास मनस्थितिमा आत्महत्या गर्न बाध्य हुन्छन् ।
आफूले आफैलाई मार्न सक्ने मान्छेलाई म चॉहि बहादुर ठॉन्छु । किनकि जो कोहीले त्यति सजिलै कहॉ आफूलाई मार्न सक्छन र ? हुन त ऑटिलो साहसिलो बहादुरले मात्र सक्ने हुन आफैलाई मार्न । मैले पनि पटक-पटक आत्महत्याको प्रयास नगरेको कहॉ हो र ? तर सकिन ! तर मैले अमूल्य मानव जिवन त्याग्न सकिन । विदेशिनेहरुका आआफ्नै समस्या र चिन्ताहरु हुन्छन् । नेपालका युवाहरुका आआफ्नै व्यक्तिगत समस्या, पारिवारिक र सामाजिक समस्याले सताईरहेको हुन्छ ।
विकसित देशहरुमा भौतिक संरचना र सुख सुविधाहरु भए पनि ति देशहरुमा आत्महत्याको दर धेरै देखिन्छ । अथाह सम्पत्ति, सुख सुविधाहरु प्राप्त मानिसहरु पनि आत्महत्या गरिरहेका हुन्छन् । संसारभरका मानिसहरुको जीवनलाई नियाल्दा दुख नपाएका मानिसहरु फेला पार्न नै गाह्रो हुन्छ । आँशु नझरेका आँखा र नदुखेका मुटुहरु फेला पार्न असम्भव जस्तै नै छ । भौतिक समृद्दी संगै मानिसका महत्वाकांक्षा धेरै नै बढेर गएको छ । मानव समाज यस्तो स्थानमा आएर खडा भएको छ कि – सानो सपना देख्न मानिसहरुले छाडीनै सकेका छन् ।
तर तितो यथार्थ यो होकी सपना सबैको पुरा हुँदैन । सपना तिनीहरुको पुरा हुन्छ जसले लगातार परिश्रम गर्छन् । आफ्नो उदेश्य पुरा नभईन्जेल लगातार परिश्रम गरिरहन सक्ने र नतिजाको प्रतीक्षा गर्न सक्ने अनि आफ्नो क्षमता र लगनशिलातामा विश्वास हुनेहरुले मात्र सफलताको शिखर चुम्न सक्छन् ।
पछिल्लो समय नेपाल जस्ता गरिब मुलुकका युवाहरु रोजगारीको लागि विदेशिन बाध्य बनेका छन् । आफ्नो देशको राजनैतिक व्यवस्थाले रोजगारीको व्यवस्था नगरेकाले लाखौ युवाहरु परदेशिन बाध्य भएका छन् ।
प्रशासनिक निकाय , प्राईभेट देखि सरकारी कार्यालयहरुमा दलालहरुको उदयले सोझा जनताहरुलाई पर्न गएको दुख तथा कठिनताका कारण पनि नेपाली युवाहरु विदेशिन बाध्य बनेका छन् ।
उदाहारणकै रुपमा भन्नुपर्दा नेपालमा नै केहि व्यापार र व्यावसाय गर्न चाहना राखेर केहि लगानीको स्रोत खोज्दा प्राप्त गर्न धेरै मुस्किल हुने तर विदेश जान भनेर ऋण खोज्ने भने तुरुन्त प्राप्त गर्ने अनौठो वातावरण देशमा सिर्जना भएको छ ।
त्यो वातावरणलाई सफल तरिकाले छिछोल्न सामान्य मानिसलाई गाह्रो हुने हुँदा धेरै मानिसहरु विदेशी भूमिमा दलाललाई अथाह पैसा दिएर पनि जान बाध्य भएका छन् ।
अथाह ऋण अनि त्यो तिर्न नसक्ने गरि कमाईने पारिश्रमिकमा भारि अन्तरका कारण विदेशिएका युवाहरुले आत्महत्या गर्नुलाई सजिलो ठान्छन् । अनि देशले गुमाएको श्रम शक्ति विदेशी माटोमा आत्महत्या गर्न बाध्य हुन्छ ।
के यसको रोकथामको कुनै उपाय छैन त ? पहिलो उपाय भनेको त आफ्नै देशमा अथाह रोजगारीको सिर्जना गरिनु आवश्यक छ । नेपालका हरेक घरका युवाहरुले साँझ विहान आफ्नै घर वा देशमा बसेर रोजगार प्राप्त गर्ने अवस्थाको सिर्जना सरकारले गर्नुपर्छ ।
अर्को भनेको विदेशमा रोजगारको लागि सरकारले उचित मापदण्ड बनाएर आफ्नै मातहतबाट जनतालाई पठाउन सक्नुपर्छ । ताकी त्यसरी पठाउँदा विचका दलाल तथा माफियाहरुले गरिब जनताहरुले ऋण लिएको पैसा जथाभावी खान नपाउन् ।
नेपालमा सिर्जना भएको यस्तो दृश्यले भविष्यमा डरलाग्दो रुप लिएर आउने निश्चित भएकोले यस विषयमा समयमै सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । तर विदेशिएका युवाहरुले पनि एउटा कुरा बुझ्नुपर्छ कि आत्महत्याले समस्या समाधान मात्र गर्दैन झन् परिवार र आफन्त माथि समस्या थपिदिन्छ । समस्या आयो भन्दैमा नभागौ मुकाबिल्ला गरौ हल खोज्न आफै लाग्नुपर्छ ।
सबै समस्याको समाधान एक्लैले गर्न सकिने बेला अब रहेन । अहिलेको जमाना भनेको टिम बनाएर काम गर्ने हो । टिम मा बसेर काम गर्न नसक्ने मानिसहरु अहिलेको जमानामा असफल हुन्छन् । जे योजना बनाउँदा पनि आफुलाई अरुको सहयोगको आवश्यक पर्छ भन्ने सोचेर आफुलाई भविष्यमा सहयोग गर्न सक्ने मानिसहरुको सुची बनाएर नै अघि बढ्नुपर्ने हुन्छ ।
त्यसो गर्ने हो भने दैनिक जीवनमा आईपर्ने समस्याहरु लाई सजिलै पार गर्न सकिन्छ । तपाईको समस्यालाई सामुहिक समस्या बन्ने गर्छ र त्यो सामुहिक तरिकाले हाल हुन्छ । त्यसैले गल्तीबाट सिकेर अघि बढ्नुपर्छ । असफल हुन सकिन्छ अनि धुलोमा लड्न पनि सकिन्छ । तर धुलो टकटकाएर आँशु पुछेर अघि बढ्नुको विकल्प छैन ।
सुन्दर कमल फुल हिलोमा फुल्ने भएको हुँदा दुख र अफ्ठ्यारोमा नेपालीहरु डराउने गरेको ईतिहास छैन त्यसैले नेपाली युवाहरुले आत्महत्याको बाटो होईन कि युवाहरुलाई आत्महत्या गर्न बाध्य पार्ने तत्वहरुलाई चिनेर त्यस विरुद्द आवाज उठाउनु र सरकारलाई त्यस विरुद्द सजक गराउनु प्रमुख दायित्व हुन आउँछ ।
गल्ति नगर्ने मानिसहरु हुँदैनन र गल्ति विना एक जना सफल व्यक्ति बन्न पनि असम्भव जस्तै छ । तर गल्तीबाट पाठ सिकेर कडा परिश्रम गर्दै अघि बढे हरेक युवाहरुले आफ्नो सपनालाई सफल बनाउन सक्छन् । त्यसैलेले जिवनलाई त्यति सस्तो नठानौ ।आत्महत्याको बाटो नरोजौ अनि परिवारको आशा र भरोसालाई निराशामा नबदलौ ।