जापानमा नेपालीद्वारा सञ्चालित संघ संस्थाहरुका बीच बृहत परिचयात्मक कार्यक्रम हुने

टोकियो । रोजगारी र अध्ययनका लागि जापान आएका नेपालीहरुले विभिन्न संघ संस्थाहरुबीच नयाँ बर्ष शुभकामना तथा परिचयात्मक कार्यक्रम हुने भएको छ ।

एमालेको विदेश विभाग अन्तर्गत रहेको प्रवासी नेपाली मञ्च जापानको प्रचारप्रसार तथा संघ संस्था समन्वय विभागको आयोजनामा यही जनवरी १५ तारिख आइतबारका दिन नयाँ बर्ष शुभकामना तथा परिचयात्मक कार्यक्रम हुन लागेको हो ।

सोलमरी लाईभ म्यूजिक हाउस शिनओकुबोमा कार्यक्रमको आयोजना गरिने मञ्चका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

बिहान एक बजेबाट सुरु हुने कार्यक्रममा संघ संस्थाहरुका बीचमा परिचयात्मक कार्यक्रमका साथै नयाँ वर्ष २०१७ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान सहित परिचयात्मक कार्यक्रम राखिएको प्रचार प्रसार तथा संघ संस्था समन्वय विभागका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

हाल जापानमा रहेका नेपालीहरुद्वारा सञ्चालित छ दर्जन भन्दा बढि संघसंस्था रहेका छन् । आयोजकले ती संघ संस्थाहरुका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितिको लागि आग्रह सहित पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?