जापान सरकारले बनाईदिएको नमुना राजमार्ग यसरी पारिदैछ सखाप

रामेछाप । मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ ।

अत्याधिक गतिमा चल्ने ट्रिपर र अधिक भारका कारण विगि्रएको सकडको यात्राजोखिमपूर्ण बन्दै गएको छ । साँघुरो सडकमा ठूला ट्रक र ट्रिपर अनियन्त्रित ढंगले गुड्दा वीपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको हो ।

सन् २००५ बाट निर्माण सुरु भएको राजमार्ग १० वर्ष लगाएर २०१५ मा बनेको थियो । जापान सरकारले २६ अर्ब जापानी येन लगानी गरी निर्माण गरिएको राजमार्ग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको थियो । सडक कुल १६० किलोमिटर लम्बाइको छ ।

दक्षिण एशियामा नै नमुना सडकको रुपमा बनेको यो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको २ वर्ष वित्न नपाउँदै काम नलाग्ने गरी विगि्रएको छ । खास गरी सडकको धुलिखेलदेखि नेपालथोकसम्मको भाग जोखिमपूर्ण बनेको छ ।

ट्रिपर बने अभिशाप

विनासकारी भूकम्पको कारण ठाउँठाउँमा पहिरो गरी झरेको ढुङ्गाले राजमार्गमा केही क्षति पुर्‍याएको थियो । त्यसको मर्मतको लागि सरोकारवालाको ध्यान पुगेन । भूकम्पले केही विगारेको सडकमा तीव्र गतिमा अधिक भार बोकेर दौडने ट्रिपरहरु सो सडकको लागि अभिशाप बनेका छन् ।

धुलीखेल, काठमाडौं तथा भक्तपुर क्षेत्रमा ढुङ्गा, गिटी र बालुवा ओसार्ने कामको लागि दैनिक सयौं ट्रिपरहरु यो मार्गमा गुड्ने गर्दछन् ।

ट्रिपरहरु सडकको क्षमाता भन्दा बढी सामान बोकेर दौडने गर्दा सडक भत्किएर ठाउँठाउँमा खाडल परेको छ । धुलिखेलदेखि नेपालथोकसम्मको सडक खण्ड पूरै मर्मत गर्नुपर्ने गरी बिग्रिएको छ ।

सडक भत्किएका कारण सवारीलाई नियन्त्रणमा लिनै गाह्रो हुने गरेको अरनिको यातायातका टाटासुमो चालक प्रविण श्रेष्ठ बताउँछन् । ‘बाटो यति धेरै विग्रि सक्यो कि छल्ने ठाउँ समेत छैन’, श्रेष्ठले भने ।

मापदण्ड विपरित क्रसर उद्योग

काभ्रेको दाप्चा खोलादेखि रोशी खोला किनारको खैरेनीघाटसम्म ४ ओटा क्रसर मेशिन अहिले पनि सञ्चालनमा छन् । राजमार्गसँगै जोडिएर सञ्चालन भएका ती क्रसरसम्म गिटी र बालुवा लिन टि्रपरहरु पुग्ने गर्दछन् । त्यसैगरी राजमार्ग छेउमा नै ठाउँठाउँमा ढुंगाखानीहरु सञ्चालन भएका छन् । ती खानीका ढुंगा पनि काठमाडौं भित्रने गर्दछन् । टि्रपरहरु पुग्ने ठाउँसम्मको सडक काम नलाग्ने भएको छ भने त्यो भन्दा यताको सडक बिगि्रएको छैन ।

crasar-sindhuli

क्रसर उद्योग स्थापनाको लागि राज्यले निश्तिच मापदण्ड तयार गरेको छ । जसको लागि मानव वस्तीभन्दा टाढा मात्र उद्योग सञ्चालन गर्न इजाजन दिने व्यवस्था छ । तर, वीपी मार्गको छेउमा सञ्चालन भएका सबै क्रसर उद्योग वस्तीसँगै जोडिएर सञ्चालनमा भएका छन् । अझ राजमार्गको माथिबाट सञ्चालन भएका ढुङ्गखानीले सो राजमार्गको यात्रा नै जोखिमपूर्ण बनाएको छ ।

वातावरणमैत्री सडक अहिले धुलाम्य

जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग वातावरण मैत्री सडकका रुपमा निर्माण गरिएको थियो । सडक निर्माणको क्रममा सडक खन्दा निस्किएको माटो समेत व्यवस्थित तरिकाले फालिएको थियो ।

सडक किनारमा भूक्षय हुन नदिनको लागि भूक्षय हुने सम्भावित ठाउँमा सडकको जमिनलाई नै बाँधिएको छ ।

तर, अहिले सडक आफैं भत्किएर जिर्ण बनेपछि यातायात साधन गुड्दा धुलोले पुरै ढाक्ने गरेको सिन्धुलीको दुम्जाका माधव न्यौपाने बताउँछन् । ‘त्यस्तो राम्रो सडक यस्तो होला भन्ने सोचिएको पनि थिएन । अहिले त गाडी आए पछि भागदौड गर्नुपर्छ’, न्यौपानेले भने ।

पूर्वजाने सबै साना गाडीहरु यहीबाटोबाट

अहिले काठमाडौँबाट वर्दिवास हुँदै पूर्व जाने सबै खालका साना यातायातका साधनहरु यही बाटो भएर गुड्ने गर्दछन् । मध्य पहाडी मार्गको रामेछाप, ओखलढुङ्गा, सोलु लगायतका क्षेत्रमा चल्ने मात्र हैन, सिन्धुली हुँदै वर्दिवास निस्किएर जनकपुर, विराटनगर धरान, धनकुटासम्म चल्ने माइक्रोबस तथा सुमो अन्य साना गाडीहरु समेत यहि बाटो भएर जाने गर्दछन् ।

यो सडक हुँदै पूर्व जाँदा काठमाडौंबाट एक सय ९५ किलोमिट पार गर्दा वर्दिबास निस्कने भएकोले यातायात साधनहरु यही बाटो चल्ने गरेका हुन् ।

उपभोग्य सामान बोग्ने गाडीलाई रोक

बनेपा वर्दिवास सडकको भकुण्डेे सिन्धुली सडक खण्डमा सरकारले मालबहाक सवारी साधन तथा बसहरुलाई समेत सञ्चालन अनुमति दिएको छैन । त्यसैले सो सडकमा गुड्ने उपभोग्य सामान बोक्ने मिनट्रक, ट्रक तथा अन्य सवासी साधनलाई बेलाबेलामा राज्य र त्यसका निकायले नै रोकेर दैनिक जनजीवन नै प्रभावित पार्ने गर्दछन् । ठूला सवारी साधन सञ्चालनको अनुमति नभएको भनिएको सो सडकमा १२ टनसम्म सामान बोकेर गुड्ने टि्रफरलाई भने कुनै रोकटोक छैन ।

नवराज पथिकले अनलाईन खबरमा लेख्नुभएको समाचार साभार गरिएको हो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?