पर्ल हार्बरमा आबे र ओबामा, तीन तस्विर, तीनथरि पुष्प गुच्छा, कारण के ? (फोटो फिचर)

होनोलुलु (अमेरिका) । अमेरिका र जापानबीचको ७५ वर्ष लामो तिक्ततालाई अन्त्य गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई राज्यस्थित पर्ल हार्बरको मङ्गलबार भ्रमण गरेका छन् भने उक्त भ्रमणमा अमेरिकी राष्ट्रपति पनि सँगै पुगेका थिए ।

सन् १९४१ डिसेम्बर ७ मा पर्ल हार्बरमा जापानद्वारा गरिएको आक्रमणमा दुई हजार ३०० अमेरिकी नौसेनाको मृत्यु भएपछि अमेरिका द्वितीय विश्वयुद्धमा उत्रिएको थियो ।

जापानी प्रधानमन्त्री पर्ल हार्बरमा पुग्दा अमेरिकी राष्ट्रपतिले उनलाई साथ दिएका थिए ।

युद्धपछि बिग्रिएको सम्बन्धलाई पूर्व शत्रुको भ्रमणपछि सुधार आउने र यसअघिका दुई देशलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने जापानी सरकारले बताएको छ ।

जापानको उच्च नेताका रुपमा आक्रमणको नौ वर्षपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गरेका थिए ।

उक्त स्थानमा दुवै देशका राष्ट्रप्रमुखले एकै पटक भ्रमण गरी उक्त घटनामा ज्यान गुमाउने अमेरिकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने अवसर भने जुरेको थिएन ।

जापानी प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिसहित पर्ल हार्बरस्थित स्मारकमा पुगेर हमलामा मारिएका मानिसप्रति सम्मान व्यक्त गरेका थिए ।

आबेले पर्ल हार्बरमा जापानी आक्रमण भएको घटनामा क्षमा याचना भने गरेका थिएनन् । तर भविष्यमा आणविक हतियारबाट स्वतन्त्र रहन जापानको प्रतिबद्धता भने जनाए ।

करिब छ महिना पहिले अमेरिकी राष्ट्रपतिका रुपमा राष्ट्रपति ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब दुई लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमणस्थलको पनि भ्रमण गरेका थिए । ओबामाले पनि हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमा याचना भने गरेका थिएनन् ।

आबेको अमेरिका भ्रमणबारे अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्रीबीच गत महिना पेरुमा आर्थिक सम्मेलनको सेरोफेरोमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री आबेको भ्रमणका क्रममा रातो र सेतो फुलका गुच्छाहरु प्रयोग गरिएको थियो । आबे र ओबामाले तीन फरक फरक स्थानको तस्वीर सार्वजनकि गरेका छन् भने त्यहाँ तीन थरि पुष्प गुच्छा प्रयोग भएका थिए । तीन स्थानमा तीन थरी पुष्प गुच्छा प्रयोग गरिनुको कारणका रुपमा सम्बन्ध विस्तार आएको परिवर्तनका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?