आगौं साल संगै मनाँउ

बाबु तिमि आयौ भने न दशैं आउँथ्यो

नानी तिमी अाए न सयपत्री, मखमली फुल्थे
पिंगको चचहुइ र देउसिभैलो को भट्टयाइ सुनिन्थ्यो
आंगनीको डिलमा सेल र फिनि पाक्थे
जमरा त्यसै ओइलाएर जान्थेंनन
तिम्रा बाबा भइन्जेल
चाँडबाँड कहिल्यै अध्यांरा भएनन
गाँऊको झुपडी, टालेका कपडा, ऋणको सरदाम
त्यैपनि पल्लो डांडा सम्मन पुग्ने हाम्रा खुशिहरु
खै के देखें, के सोचे र के बुजे
एकाएक देश बचाँउछु भनेर निस्किएका कहिल्यै फिरेनन
त्यसै साल देखि चाँडबाँड पनि !!

बाबु, मलाइ गाँउ फर्किन मन छ
त्यहिंका डांडा पखेराहरुमा रमाँउछु
चौतारी, भन्ज्यागंमा सुसेलछु
गाँउलेहरुको खिसि टिउरिमा लुकेको माया काफी हुनेछ
तिमी दुइलाइ बिन्ति छ
यो शहरको निस्सासिदो, अत्याड लाग्दो
एक्लो जीवनबाट मुक्ति देउ मलाइ
एक्लै एक्लै खाने, एक्लै एक्लै जिउने, एक्लै एक्लै रम्ने शहर
हामीहरुका लागि होइन रहेछ
यँहा त चाँडबाँड पनि उन्मत्त भएर आउँदा रहेछन
साइनोहरु पनि त्यसरि नै गासिंने
आफन्तहरु पनि हैसियतको तराजुले जोखिदा रहेछन
यहाँ त मलाइ घुटन हुँदोरहेछ ।।

तिमीहरु अर्को दशैंमा जसरी पनि आउनु
तिहार र छठ समेत मनाउने गरेर
मिल्छ भने नानी, तँ तिज अगाडि नै आइज
पोहोर-परार जसरि नढाँट्नु
आगुम साल सगैं मनांउ
डाँडा पारिको घाम के हो के हो
फेरि फेरि चाँडबाँड मनाउने साइत जुर्ला नजुर्ला !
तिम्रा बाबालाइ फेरि के भन्ने मैंले
आँखाका नानीले ..आँखाकै रोदन देखेनन कसरी भनु ?
घुक्राएर तिमिहरुको साथनै काफी भन्थें
हर समय साथ र माया दिन्छन भन्थें
तिम्ले छाडे पनि
खुशीसंग पाल्छन भन्थें
स्याहार सुसार गर्छन भन्थें
बुढेसकालका सहारा हुन भन्थें
कमाएर सुख दिन्छन भन्थें
सबै सबै असत्य भैदियो ।।
तिम्रा बाबाले भने जस्तै
सबै काम पैसाले नगर्दो रहेछ
अनपढ भएपनि उन्को ज्ञानको भण्डार बल्ल बुज्दै छु
मेरो न उनी सगं कुनै गुनासो रह्यो
न तिमीहरु संग
न यो देश संग
न यसलाइ चलाउने सगं
आफुलाइ बनाउन देश बिर्सिएका तिमीहरु सगं
देश बचाउन आफूलाइ अर्पिएका को अर्धागिंनीले
के ठूलो आस गरु र !
जम्मा एउटा अनुरोध
एक सालको दशैं सगैं मनाउन मन छ
केवल एक सालको चाँडबाँड सगैं मनाउन मन छ ।।

विष्णु प्रसाद घिमिरे
अध्यक्ष
अन्तराष्ट्रिय साहित्य नेपाली समाज जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?