विप्लव माओवादीका नेताहरु जापानमा, अनगिन्ति प्रश्न र जवाफहरु

जापान।जनप्रगतिशील समाज जापानको दोस्रो अधिवेशनमा सहभागी हुन जापान आईपुगेका नेकपा (माओवादी) का नेता स्थायी समिति सदस्य तथा प्रवक्ता खड्क विश्वकर्मा, स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला र नेपालीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालबाट पढाई, व्यवसाय, पत्रकारिता पेशा लगायतमा जापान आएका नेपाली यूवाहरुले माओवादी नेताहरुलाई अनगिन्ति प्रश्नहरु सोधेका थिए । नेपाली यूवाहरुको प्रश्नको केन्द्रमा थियो राष्ट्रियता, क्रान्ति र देशको भविष्य ।

सैयौं वर्ष लामो राजनैतिक आन्दोलनको इतिहास र त्यसमा पनि माओवादी जनयुद्दको विरासत र त्यसले सिर्जना गरेका सपना र परिवर्तनका नयाँ आयामहरुको विषयमा गम्भीर प्रश्नहरु जापान स्थित एक हलमा युवाहरुले उठाएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी )का नेता द्वय खड्क विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र वास्तोला ‘कन्चन’ लाई जापानमा नेपाली यूवाहरु विच बहस र छलफल गराउने कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ (एफएनजे) जापानले गरेको हो ।

नेपालको समसामयिक विषयमा माओवादी नेताहरुको धारणा बुझ्न आयोजना गरिएको सो कार्यक्रममा पत्रकारहरुले माओवादी आन्दोलन फुट, क्रान्तिको औचित्य र फेरी जनयुद्दको सम्भावना बारे निर्मम प्रश्नहरु राखेका थिए ।

नेपालमा पूरानो तरिकाले क्रान्ति गर्न सम्भव नभएको भन्दै नेकपा (माओवादी) ले एकीकृत जनक्रान्तिको राजनैतिक कार्यदिशा प्रस्तुत गर्दै संघर्षका कार्यक्रमहरु अगाडी बढाई रहेको छ ।

विदेशी माटोमा आफ्नो देशको भविष्यको चिन्ता लिएर सोधिएका अनगिन्ति प्रश्नहरुको जवाफ दिने पहिलो लाईनमा खडा भए माओवादी नेता धर्मेन्द्र वास्तोला ।

पुरानै शैलीमा सुगौली सन्धिको राष्ट्रघात देखि कांग्रेस र एमालेको राजनैतिक आन्दोलनको बेईमानिलाई स्मरण गर्दै प्रचण्ड-बाबुराम सम्मको राष्ट्रियता र नेपालको तल्लो वर्ग माथिको घातसम्मको घटनाक्रमलाई धाराप्रवाह रुपमा प्रस्तुत गर्दै नेता वास्तोलाले क्रान्तिको विकल्प नभएको कुरालाई जोड दिएका थिए ।

क्रान्ति भनेको युद्द गर्ने भनेको होईन भन्दै वास्तोलाले शान्तिपूर्ण तरिकाले जनताको कुरा उठाउँछौ तर शान्तिपूर्ण प्रदर्शनमा दमन भए त्यहाँ प्रतिरोध हुन्छ र विद्रोह गर्ने जनताको अधिकार हुन्छ भन्ने कुरालाई उनले स्पष्टै भनिदिए ।

५२ अघि पनि हामीले क्रान्तिको कुरा गर्दा राज्यले दमन गरेको हुनाले नै जनयुद्द भएको वास्तोलाले उल्लेख गरे । क्रान्ति नभई स्वाधिनता हुँदैन र स्वाधिनता नभई देशको विकास सम्भव नहुने वास्तोलाको भनाई रहेको छ । अनि वास्तोलाले शुरु गरे नेपालको नदी नालामा भएको राष्ट्रघात बारेको वर्णन ।

४ हजार १८० मेघावाट विजुली उत्पादन क्षमता भएको माथिल्लो कर्णालीको प्रोजेक्ट अहिले भारतको हातमा दिईएको छ । त्यस्तै अरुण ३ जसको विजुली उत्पादन क्षमता ९०३ मेघावाट हो त्यो पनि भारतको हातमा दिईएको छ ।

त्यस्तै मर्स्याङ्दी विद्युत परियोजना पनि भारतको हातमा दिईएको छ । नेपालमा विद्युत उत्पादन गर्ने २८ वटा ठूला प्रोजेक्टहरु भारतले कब्जा गरेको छ । नेपालको माथिल्लो कर्णाली, अरुण ३ लगायत सम्पूर्ण प्रोजेक्टहरु बाट विजुली उत्पादन गरि भारतमा लैजाने र त्यहाँबाट नेपालकै विजुली नेपाललाई आवश्यक मात्र बेच्ने उदेश्य अनुसार भारतले नेपालमा गतिविधि गरिरहेको कुरा बास्तोलाले बताएका छन् । त्यो योजना लागु गराउनको लागि २०११ मा नेपालका सभासदहरुलाई भारतमा लगेर प्रशिक्षण नै दिएको र त्यसको लिखित कागजपत्र आफुसँग पनि सुरक्षित रहेको दावी गरेका छन् ।

नेपालमा उत्पादन हुने २ लाख भन्दा बढी मेघावाटको विजुली भारत लैजाने र नेपाललाई संधै अन्धकारमा राख्ने भारतीय योजना विरुद्द स्वाभिमान नेपालीहरु एकजुट भएर आवाज उठाउनुपर्ने धारणा बास्तोलाले व्यक्त गरेका थिए । कार्यक्रममा पछिल्लो राजनैतिक घटनाक्रम कस्तो छ भनेर बोल्न मन्चमा बोलाईयो माओवादी नेता तथा पूर्व मन्त्री खड्क विश्वकर्मा ‘प्रकाण्ड’ ।

नेपालमा जनताको अधिकारलाई कुण्ठित गरेर संविधान सभा २ थुपारिएको भन्दै नेपालमा कांग्रेस र माओवादी केन्द्रको नाममा राष्ट्रघात सुरु भएको प्रकाण्डले बताए ।

राजतन्त्र मिल्काउनुको अर्थ दलालहरु बाट शासित हुनु नभएको भन्दै प्रकाण्डले पूर्ण परिवर्तन तल्लो वर्गको सत्ता र व्यवस्थाको स्थापनाको लागि जनयुद्द भएको बताए । गणतन्त्र आएपछि सहिद वेपत्ता र क्रान्तिका घाईते अपांग योद्दाहरुको अपमान गरिएको गम्भीर आरोप प्रकाण्डले लगाएका छन् ।

वृहत शान्ति सम्झौताको सफल कार्यन्वयन कांग्रेस र स्वयंम प्रचण्डले पनि नगरेको भन्दै गद्दारी र धोका विरुद्द आफूहरुले नयाँ क्रान्ति गर्ने चेतावनी उनले दिए । व्यवस्था राजतन्त्रबाट गणतन्त्र तिर पुग्यो, राजा फालियो तर कम्युनिष्ट त्यसमा पनि जनयुद्दको नेतृत्व गरेको प्रचण्डको नेतृत्वमा सरकार छ तर महंगी जनताले सहनै नसक्ने प्रकारको रहेको छ ।

कम्युनिष्टको नेतृत्वको सरकार तर जनताको जीवन इतिहासमा सबैभन्दा पीडादायी रहेको भन्दै उनले क्रान्तिको विकल्प नभएको बताएका छन् । हामीलाई युद्द गर्न खोजेको भनेर सरकारले आरोप लगाएको भन्दै उनले जनता र किसानहरु माथि सरकारले दिनदिनै अभाव, महंगी खडा गरेर युद्द थोपरिरहेको आरोप लगाएका छन् ।

यो व्यवस्था बदल्नको लागि हामीले युद्द होईन क्रान्ति गर्नेछौ भन्दै प्रकाण्डले एकीकृत जनक्रान्ति मार्फत त्यसलाई पुरा गर्ने बताएका छन् । माओवादी समर्थित जनप्रगतिशील समाज जापानको दोस्रो अधिवेशनका लागि नेताहरु जापान आईपुगेका हुन् । सो अन्तक्रिया कार्यक्रम पत्रकार महासंघ जापानका संयोजकले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?