जापानमा मनाइयो संविधान दिवस

जापान । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ ।

संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ संविधान दिवस मनाइएको हो । उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले मुलुकले लामो समयको प्रतीक्षापछि सर्वोच्च कानुन संविधान पाएको र अब यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

संविधान जारी भएको एक वर्ष पुगेको खुसियालीमा राजदूत अर्यालले जापान टाइम्समा एक सन्देश प्रकाशित गरी नेपालका सबै क्षेत्र विशेषगरी शान्ति महानायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न र गराउन आग्रह नेपाली र जापानी नागरिकलाई आग्रह गरेका छन् ।

संविधान दिवसका अवसरमा दूतावासले रात्रि भोजको आयोजनासमेत गरेको थियो । रात्रिभोजमा जापानको संसदीय मैत्री सङ्घका सभासद्, परराष्ट्र मन्त्रालयका पदाधिकारी, जापानस्थित भारतीय, पाकिस्तान र बङ्गलादेशका राजदूतको उपस्थिति थियो ।

त्यस्तै रात्रिभोजमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता देव गुरुङ, लीलामणि पोखरेलसहित जापानस्थित विभिन्न भ्रातृ सङ्गठनका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र स्थानीय व्यापारीको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?