एनआरएनको गरिमा जान्दछु, भ्रमको खेती गर्नेहरुलाई निरुत्साहित गरौं : भवन भट्ट

जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले आफु लक्षी गरि आएको भ्रामक समाचारको खण्डन गरेका छन् ।

bhawan-bhatta

उपाध्यक्ष भट्टले एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष भट्टले नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

भट्टले विज्ञप्तीमा भनेका छन्– ‘गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्विर राखी प्रसारीत समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियत वस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ । सो समाचारमा उल्लेख गरिएको विषय र रकम दुवै गलत र भ्रामक रहेको कुरा म सबैमा जानकारी गराउदै उक्त भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दछु ।’

भट्टले विज्ञप्तीमा सम्पुर्ण एनआरएन र यस संस्थाका शुभचिन्तकहरुलाई प्रस्तुत समाचारको भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।

उनले आफ्नो संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेका नेपाली समुदायमा क्रियाशील राजनीतिक दलका भातृ संगठन र सामाजिक संघ संस्थाका अगुवाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति गठन भएको र समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको उल्लेख गरेका छन् ।

भट्टले विज्ञप्तीमा जापान पोष्ट बैंकको उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र यो रकम कसैले चाहेर पनि गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको उल्लेख गरीएको छ ।

भट्टले विज्ञप्तीमा भनेका छन्– ‘म एनआरएनए आइसिसिको उपाध्यक्ष रहेका कारण सो रकम मैले मात्रै चाहे अनुसार उपयोग नहुने कुरा सबैमा अवगत गराउन चाहन्छु । यति हुँदाहुँदै पनि त्यतिबेला नै समितिका साथीहरुलाई आस्वस्त पारी ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा पठाइएको थियो । बाँकी रकम पनि एनआरएनए आइसिसिकै पहलमा आगामी दिनमा हुन गैरहेको पुनरनिर्माणका कार्यमा नै सहयोग हुने गरी पठाउन मेरा तर्फबाट आवश्यक पहल भैरहेको पनि जानकारी गराउन चाहन्छु ।’

भट्टले आफु एनआरएन जापानको स्थापना कालदेखि नै अविरल रुपमा संघको अभियानमा तन, मन र भनले लागेको र जापानको सदस्यदेखि अध्यक्ष हुँदै आइसिसिमा कोषध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष पदमा रहिसकेको उल्लेख गरेका छन् ।

उनले आफु गैरआवासीय नेपालीहरुको पीर मर्कालाई सम्बोधन गर्नका साथै नेपाल र नेपालीलाई अफ्ठेरो पदा सहयोग गर्न सधैं तयार रहने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले नेपालमा भूकम्प गएको दुई घण्टा भित्र समिति गठनका लागि आफुले नै पहल गरेको र आफ्नो तर्फबाट एक करोड नेपाली रुपैयाँ समेत उक्त अभियानका लागि दिने घोषणा गरेको उल्लेख गरेका छन् ।

उपाध्यक्ष भट्टले गैर जिम्मेवार ढंगले नाजायत र तथ्यहिन समाचारहरु बाहिर ल्याउनेलाई सचेत गराउँदै आनआरएन एकतामा जोड दिएका छन् ।

उनले संघ भित्रकै जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार क्रियाकलापलाई निरुत्साहित गर्नका लागि सम्पुर्ण एनआरएन अभियन्ताहरुलाई विषेष आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?