हिरोसिमामा भेला भएर आफ्ना प्रियजनलाई यसरी सम्झिए जापानीहरुले (भिडियो सहित )

हिरोसिमा । आज भन्दा ७१ वर्षअगाडि अमेरिका द्वारा हमला गरिएको आणविक बमको विध्वंशबाट पीडित जापानी जनताले हिरोसिमामा भेला भएर प्रियजनहरुलाई सम्झिएका छन् । विगतका धेरै वर्षमा गरिए झैँ बम खसालिएका दुवै स्थानमा यसपालि पनि हजारौँ जापानी नागरिक जम्मा भई ७१ वर्षअघिको दुःखद नरसंहारको स्मरण गर्दै मारिएका हजारौँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

हिरोसिमामा आफ्ना प्रियजनलाई सम्झदै जापानीहरु

उनीहरूले विश्वका कुनै पनि नागरिकले आगामी दिनमा त्यस्तो भयावह नरसंहार सहनु नपरोस् भन्ने कामना गरेका छन् । मारिएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न हिरोसिमा नगरमा आयोजना गरिएको कार्यक्रममा सहभागीमाझ नागासाको मेयरले विश्वभरिका नेताहरुलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाको पाईला पछ्याउन आग्रह गरेका छन् ।

ओवामाले जस्तै विश्वभरीका नेताहरुलाई हिरोशिमा नागासाकीको भ्रमण गरि आणविक हतियारको दुनियाँ बाट विश्वलाई मुक्त गराउन आग्रह गरेका छन्  ।

सन् १९४५ मा भएको एटम बम हमलामा मारिनेहरुको सम्झनामा भावविह्वल जापानी वृद्ध महिला

अमेरिकी राष्ट्रपति बाराक ओबामाले जेठ १४ मा जापानको हिरोसिमा भ्रमण गरेका थिए। हिरोसिमामा अणुबम खसालिएको ७१ वर्ष पूरा भएको समय पारेर ओवामा जापानको भ्रमणमा गएका थिए । यसअघि कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले अणुबमले ध्वस्त भएको ती  सहरहरु र यसका पीडितलाई भेट्ने आँट गरेका थिएनन्। ओबामाले हिरोसिमा पुगेर घटनाको विभत्सतालाई स्मरणमात्र गरेनन्, अणुबमका पीडितसमेत भेटेका थिए ।

हिरोसिमाको भ्रमणको क्रममा ओवामा , जापानी प्रधानमन्त्री आवेसंग

जापानमा आणविक केन्द्र रहेका कारण आज पनि नागरिकहरूको मष्तिष्कबाट ती सन्त्रासमय दिनहरू नहटिसकेकाले विश्वलाई आणविक शक्तिमुक्त बनाउन मेयरले सबैसँग आग्रह गरेका थिए ।

आजभन्दा ७१ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्त राज्य अमेरिकाले दुई अणुबम खसायो । ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा करिब ७० हजार र नागासाकीमा करिब ४० हजार गरी चार दिनभित्र करिब एक लाख १० हजार नागरिकले तत्कालै ज्यान गुमाए ।

fat-man
अमेरिकाले नागासाकीमा खसालेको नरसंहारकारी आणविक बम ‘फ्याट म्यान’

उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भयो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम-२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । १० फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी-२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो ।

जापानबाट एक हजार पाँच सय माइल सुदूर दक्षिणमा पर्ने उत्तरी प्रशान्त महासागरको मेरियाना द्वीपमा अवस्थित वायुसैनिक केन्द्रबाट ६ अगस्त १९४५, सोमबारका दिन स्थानीय समय अनुसार बिहान ०२:४५ बजे १२ जना चालकको दलसहित उक्त बमवर्षक विमान गोप्य आक्रमणका लागि प्रस्थान  गरेको थियो ।

इनोला गे बमवर्षक विमान उड्नुपूर्व मौसमसम्बन्धी जानकारी दिन तीनवटा स¬साना विमान र त्यतिखेरका आधुनिक क्यामेरा र धेरैथरी मापनयन्त्रजडित अन्य दुई पथप्रदर्शक विमान पनि सँगै उडेका थिए ।

म्यानह्याट्न प्रोजेक्ट नामाङ्कित यस आक्रमण परियोजनामा अमेरिकाले अनुसन्धान, बम निर्माण र अन्य गतिविधिमा मात्र दुई अर्ब अमेरिकी डलर खर्च गरेको थियो । यसअघि यस्ता बम कहिल्यै परीक्षण भएका थिएनन् र विमानबाट पनि खसाइएको थिएन ।

पूर्वनिर्धारित योजना र कार्यक्रमअनुसार उक्त बमवर्षक विमान स्थानीय समयअनुसार बिहान ०८:१५ बजे हिरोसिमा नगरमाथिको आकाशमा पुग्यो । त्यतिखेर हिरोसिमा नगरको मौसम अत्यन्त सफा थियो ।

हिरोसिमा नगरको आइओइ नदी माथिको पुललाई लक्ष गरी चालकदलले बम खसाइदिए । उक्त नगरबाट एक हजार नौ सय फिटमाथि आकासमा ठूलो आवाजका साथ उक्त बम विस्फोट भयो ।
उक्त बम आगोको अत्यन्त भयानक पिण्डमा परिवर्तन भई लक्षभन्दा करिब आठसय फिट पर विस्फोट भयो । हेर्दाहेर्दै, बैजनी र गाढा कैलो रङका, ठूलाठूला च्याउ आकारका धुवाँको मुस्लोका साथ गाढा रातो रङको आगोका भयानक लप्काहरूले जमिन सतहभन्दा ४० हजार फिटमाथिसम्म उठेर प्रलय मच्चाएको देखियो ।

नब्बे हजार घरधुरी र तीन लाख ५० हजार जनसङ्ख्या रहेको नगरमा विस्फोटस्थलको तीन माइल व्यासक्षेत्रभित्रका दुई तिहाइ भूभाग अर्थात् ६० हजार घरधुरीसहित बालीनाली, उद्योग कलकारखानालगायतका भौतिक र प्राकृतिक संरचना आगोका लप्कामा परी दुई मिनेटभित्रै समूल नष्ट भए । महिला तथा अबोध बालबालिकासहित करिब ७० हजार निर्दोष नागरिक तत्कालै सखाप भए ।
सर्वत्र आगो बलिरह्यो र ज्वालामुखी विस्फोट भएका बखत निस्कने लाभाजस्ता लेदो नगरका सडकभरि खोलाझैँ बग्नथाले । छानाका टायल, ढुङ्गा, माटा, जस्तापातालगायतका संरचना सबै पग्लेर बग्नथाले ।

माथिसम्म फैलिएको बाक्लो कालो धुँवाले दुई मिनेट अघिसम्म झलमल्ल घाम लागेको उज्यालो नगर अन्धकारमय बन्यो । सडक, ढल, चौर, जहाँतहीँ  डढेको मानव शवको थुप्रो लाग्यो । बाँचेकाहरू सबै आगाले डढेका, काला, कपाल र शरीरका अन्य भागमा रौँविहीन नाङ्गा, अन्धअपाङ्ग, कुप्रा, कङ्काल, ख्याक वा भूतप्रेत जस्ता देखिए ।

यस प्रलयकारी घटनाको पाँच वर्षभित्रै विकिरणबाट पीडित अरू ७० हजार निर्दोष नागरिकको ज्यान गयो । हिरोसिमा नष्ट भएको तीन दिनभित्रै, नगरमा के कति जनधन क्षति भयो भन्ने हेर्ननपाउँदै अमेरिकाले जापानको अर्को प्रमुख नगर नागासाकीमा पनि बम आक्रमण गरयो ।

https://youtu.be/2wsj6Av7PDQ

 

 

९ अगस्त १९४५, बिहीबारका दिन जापानबाट एक हजार ५०० माइल टाढा उत्तरी प्रशान्त महासागरको टिनियान द्वीपबाट स्थानीय समयानुसार बिहान ०३:४९ बजे उडेको बक्स कार नामक अर्को बी(२९ सुपर फोरट्रेस बमवर्षक विमानले बिहान ११:०२ को स्थानीय समयमा नागासाकी नगरको एक हजार छ सय ५० फिटमाथि आकासमा ‘फ्याट म्यान’ नामक आणविक बम विस्फोट गरायो ।

मेघगर्जन भन्दा सयौँगुणा चर्को आवाजसहित अत्यन्त तेज गतिमा विस्फोट भएको आगोको विशाल लप्कासहितको बमले नागासाकी नगरमा पनि हिरोसिमामा घटेका जस्ता सबै घटना दोहोरायो ।

दुई लाख ७० हजार जनसङ्ख्या रहेको नगरमा  विष्फोटस्थलको दुई माइल व्यासक्षेत्रभित्रको करीब ४० प्रतिशत भूभागसहित बालीनाली, उद्योग, कलकारखानालगायतका भौतिक र प्राकृतिक संरचना दुई मिनेटभित्रै समूल नष्ट भए ।

महिला तथा अबोध बालबालिकासहित करिब ४० हजार निर्दोष नागरिक तत्कालै सखाप भए । यस प्रलयकारी घटनाको वर्ष दिनभित्रै विकिरणबाट पीडित अरू ३४ हजार निर्दोष नागरिकको ज्यान गयो र यस घटनाबाट मारिनेको सङ्ख्या ७४ हजार पुग्यो ।

प्लुटोनियम-२३९ भन्ने रासायनिक तत्व प्रयोग गरी निर्माण गरिएको बम नागासाकीमा खसालिएको थियो । विश्लेषक तथा अन्वेषकहरूका अनुसार युद्धबाट अछुत जापानका हिरोसिमा, कोकुरा, नागासाकी, क्योटो र निगाता नगरहरूलाई लक्ष गरी भीषण आक्रमण गर्ने गोप्य योजना अमेरिकाले बनाएको थियो ।

यी विस्फोट जापानमा सैनिक केन्द्र स्थापना गर्ने तथा निर्दोष नागरिक संहार गर्ने उद्देश्यले गरिएको थिएन भनी अमेरिकी सरकारले प्रतिवाद गर्दै आएको छ । ठूला मानवीय गल्तीका कारण ती आक्रमण हुनपुगेको भनी धेरै वर्षदेखि अमेरिकी सरकारले स्वीकार्दै आएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?