नक्कली माग देखाएर जापान पठाउने भन्दै ठगी

thagiकाठमाडौं । नक्कली माग देखाएर जापान पठाउने भन्दै ठगी गरेका घटना सार्वजनिक भएको छ । 

आइइबी इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक नेत्रकुमार लोहनीले सुनसरी भासी–५ का अर्जुन बस्नेतलाई रकम बुझाएको तीन महिनामा जापान पठाउने आश्वासन दिएर एक लाख रुपैयाँ सुरुमै लिएका थिए ।

गत वैशाख १३ गते घरमै पुगेर लोहनीले बस्नेतसँग एक लाख रुपैयाँ लिएर बढीमा तीन महिनाभित्र थप आठ लाख रुपैयाँ तयार गर्नु भनेपछि उनी जापान जाने दिनको पर्खाइमा बसेका थिए ।

यस्तै सुनसरी, मरुल–३ का हेमराज खत्रीले समेत एक लाख रुपैयाँ बझाएर थप ८ लाख तयार पारिसकेका थिए । सोही ठाउँका शेरबहादुर कार्कीले त जापान उड्ने सपनामा लोहनीले भने अनुसार नै थप आठ लाख रुपैयाँ जम्मा गरिसकेका थिए ।

कन्सल्टेन्सीको वास्तविकता बुझ्दै नबुझी धमाधम रकम बुझाएका बस्नेत, खत्री र कार्कीसहित अन्य १० जना जापान जाने प्रलोभनमा ठगीमा परेपछि रकम फिर्ता लिने भन्दै वैदेशिक रोजगार विभाग र प्रहरीमा धाइरहेका छन् ।

जापान जान १० जनामध्ये पाँचजनाले १–१ लाख रकम लोहनीलाई बुझाएका छन् भने चारजनाले ५० हजार र एक जनाले २३ हजार रुपैयाँ बुझाएको भन्दै अहिले सो रकम फिर्ता गराउन लागिपरेका छन् ।

कन्सल्टेन्सी सञ्चालकले भनेअनुसार जापान जान तयारी गर्न लगाएको मितिमा काठमाडौं आउँदा लोहनी ‘फरार’ भएपछि उनीहरूले ठगीमा परेको थाहा पाएका थिए ।

जापानमा कृषि र कार धुलाइको काममा वर्किङ भिसामार्फत पठाउने प्रतिबद्धता जनाएका लोहनीले ती युवालाई दिएका विभिन्न कागजपत्र खोतल्दै जाँदा रोजगारदाता कम्पनीले दिएको भनिएको कामको मागपत्र नै नक्कली रहेको पुष्टि भएको कार्कीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?