जापानबासी नेपालीका समस्या समाधानका लागि प्रतिबद्द छौं

NRN_news_inner poster

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नेपाल फेस्टिबलको तयारी गरिरहेको छ । गत वर्ष भएको निर्वाचनबाट निर्वाचित सुदन थापा नेतृत्वको कार्यसमितिले नेपाली समुदायका समस्या समाधानका साथै, विभिन्न सामाजिक क्रियाकलापमा समेत जोड दिइरहेको छ । केही समयअघि महजात्रा गरेको एनआरएनए जापान यतिबेला नेपाल फेस्टिबल र नेपालमा जापान फेस्टिबलको समेत आयोजना गर्ने तयारी गर्दैछ । पछिल्लो समयमा एनआरएनए जापान के गरिरहेको छ र आगामी योजनाहरु के छन् ? यसै सन्दर्भमा एनआरएनए जापानका अध्यक्ष सुदन थापासँग जापान सन्देशका लागि गरिएको कुराकानीको सारसंक्षेप:

यहाँलाई हार्दिक स्वागत छ ।

धन्यवाद

तपाई जापानमा नेपाली समुदायको एक अभियन्ता पनि हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?

साच्चै भन्नुपर्दा आफूले लिएको जिम्मेवारीबोध भइरहेको छ । चुनावका क्रममा आफूले गरेका बाचाहरु पूरा गर्ने प्रयत्नमा छु । निरन्तर नेपाली समुदायसँग जोडिएर काम गरिरहेको छु । एनआरएन जापानको अध्यक्षको रुपमा अहिले काम गरिरहेको छु, सजिला अफ्ठ्यारा दुवै छन् । समस्या पनि छन्, त्यसलाई समाधान गर्ने बाटाहरु पनि छन् ।

तपाई अध्यक्ष भएकै समयमा तपाईले महजात्रा पनि सफल गर्नुभएको छ । यसमा केही रकम संकलन गर्न सक्नुभयो, कार्यक्रमको अनुभूति बताइदिनुहोस् न ?

यो भनेको सामूहिक कार्य हो । जापानमा रहेका सबै नेपालीहरुको सहयोगमा हामीले यो थालनी गरेका थियौं । यो एउटा नेपालीकै लागि तय गरिएको कार्यक्रम हो । नेपालीका लागि ५ करोडको कोष निर्माण गर्नुपर्छ भन्ने अवधाराणा लिएर आएका थियौं ।

यसमा धेरै गर्न सफल भएका छौं । यसमा नेपाली समुदायको ठूलो सहयोग छ । जापानमा रहने सबै नेपालीहरु जस्तो विद्यार्थी, पत्रकार, व्यवसायी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुभएको छ । संघ संस्थाहरुले कोषलाई अघि बढाउनका लागि ठूलो सहयोग गर्नुभएको छ ।

जस्तो तपाईले पाँच करोडको अभियान सुरु गर्नु भएको छ । यसबारेमा केन्द्रलाई पनि जानकारी होला, कस्तो प्रतिक्रिया आएको छ ?

केन्द्रमा पनि यसबारेमा जानकारी गराएको थियो । सबै यसमा सकारात्मक हुनुहुन्छ । जापानले जुन कार्यक्रम सुरु गरेको छ । यसलाई अरुले पनि अघि बढाउनुपर्छ भन्ने आएको छ । गैरआवासीय नेपालीहरुका लागि सञ्चालन गरिने कार्यक्रममा सबैको सहयोग छ ।

अब नेपाल फेस्टिबल गर्दै हुनुहुन्छ । कतिवटा स्टलहरु हुन्छन् र त्यसबाट कति आम्दानी हुन्छ ?

हामीले सुरुमा ५० वटा फुटस्टल र ४० वटा ग्लोबल व्यापारिक प्रयोजनका लागि राख्न लागेका थियौं तर अहिले हामीले त्यसमा ३८ वटा कटौती गरेका छौं । अहिले हामीले २२ वटा फुटस्टल र अन्य ३० वटा गरी जम्मा ५२ वटा राखेका छौं । यसबाट करिब ९५० मान (करिव १ करोड) जति कमाई हुन्छ । त्यसमा खर्च पनि हुन्छ । यसवर्ष खर्च बढ्ने देखिएको छ । हामीले मुख्यत स्पोन्सरलाईं जोड्ने तयारी गरेका छौं ।

जापानीहरुको उपस्थिति पनि राम्रो हुने तपाईको आँकलन छ, माथिल्लो स्तरको राजनीतिक नेता ल्याउने सम्भावना कतिको छ ?

अब हामीले यस विषयमा कुराकानी पनि अघि बढाएका छौं । नेपाल र जापानका नेता ल्याउने बारेमा कोशिस गरिरहेका छौं । जापानबाहिरका साथीहरु सहभागी हुने सम्भावना चाँही अली कमजोर देखिएको छ ।

नेपाल फेस्टिबलमा अन्य शाखाहरुबाट उपस्थिति कस्तो रहन्छ ?

सबै शाखाहरुबाट आर्थिक सहयोग सँगै भौतिक रुपमा उपस्थित हुन भनिएको छ । सम्भवत: सबै क्षेत्रका मुख्य मुख्य साथीहरु सहभागी बन्नुहुन्छ । यो एउटा हाम्रो देशको इज्जतसँग जोडिएको कार्यक्रम हो । हामीले राम्रोसँग गर्न सकेनौं भने हामीलाई नै गाह्रो हुन्छ । त्यसकारण सबै संघ संस्थालाई आफूले सकेको सहयोग गर्न अनुरोध समेत गर्छु ।

एनआरएन जापानको अध्यक्ष भएपछि तपाईले के-के गर्नुभयो ?

हामीले देखाउनै पर्ने बाहेक पनि हामीले दैनिक थुप्रै समस्याको समाधान गरिरहेका छौं । नेपालीहरुको साहुले तलब नदिएको देखि भिषा समस्यासम्मका समस्या समाधानमा पहल गरिरहेका छौं । नेपाली समूदायका लागि दैनिक काम गरिरहेका छौं । यसअघि पनि हामीले २९ तारिखमा पनि हामीले राजदूतावाससँगको सहकार्यमा कार्यक्रम गर्यौ । अहिले नेपाल फेस्टिबलमा केन्द्रीत छौं । विरामी भएकाहरुको सहज उपचारका लागि पैसा नै नउठाएपनि अन्य तरिकाले उपचारमा सहयोग गरेका छौं । जापानमै विरामीहरुको उपचार, उपचारमा सहजीकरण लगायतमा भूमिका खेलिरहेका छौं ।

जापानमा तपाईहरुका विभिन्न शाखाहरु पनि छन् तिनीहरुसँग समन्वय नभएको भन्ने गुनोसो छ नी ?

त्यस्तो होइन । जापानमा हाम्रा १२ वटा शाखाहरु छन् ।  सबै क्षेत्रहरु आफ्नो तरिकाले लागिरहेका छन् । केन्द्र भनेको टोकियो मात्रै होइन । आज म टोकियोमा छु भने भोलि अर्को पनि आउछ । तर हाम्रो केन्द्र र क्षेत्रमा सम्बन्ध राम्रो छ । कुनै विवाद छैन ।

तपाई झण्डै ६० हजार नेपालीको नेतृत्व गर्नुभएको छ । एनआरएनका महासचिव रेगुलर छैनन्, अनी स्पष्टिकरण पनि माग्नुभएको छ रे । स्पष्टिकरण माग्नुको कारण के हो ?

हाहाहा…..(लामो हाँसो) संस्थामा यस्ता कुराहरु चलिरहन्छन् । संस्था एक जनाले चलाउने कुरा होइन । कसैले पनि सक्दैन भने बाटो छाडिदिनु पर्छ । काम गर्न सकिदैन भने पदमा बसिरहनु हुन्न । एक जनाले काम गर्न नसक्दा टिम नै असफल हुने अवस्था आउँछ । हामी नेपाली समुदायका लागि काम गर्छौ भनेर आएका हौ । काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ नगर्नेले बाटो खुल्ला गर्नुपर्छ ।

उहाँले तपाईहरुको चित्तबुझ्दो उत्तर आएन भने के गर्नुहुन्छ ?

त्यो निकाल्ने भन्ने त होइन । संस्था हो, यहाँ आउने स्पष्टिकरण दिने, संस्थामा रहेर काम गर्न नसकेमा र स्पष्टिकरण दिदा चित्त नबुझेको अवस्थामा संस्थाले कारबाही गर्छ त्यो अवस्थामा हामी मिडियालाई जानकारी गराउँछौं । आज भनेको काम गर्नु भएन है भन्ने जानकारी गराएका हौं । कारबाही गरिसकेको अवस्था होइन ।

तीज फेस्टिबल गर्दै हुनुहुन्छ । अरुको कार्यक्रमलाई नजुधाई गर्ने तयारी गर्नुभएको छ । यसलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?

हाम्रो सोचाई नेपाली कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्यले तीज फेस्टिबल आयोजना गर्न लागेका हौं । रातो दिवसको रुपमा मनाउने, सबैले रातो लाउनुपर्ने, एउटा विशेष दिनको रुपमा मनाउने हाम्रो सोचाई हो । हामीले यसबाट पाँच करोडको कोषमा पनि थप रकम जुटाउने पनि हाम्रो यसपटकको लक्ष्य रहेको छ । हामीले सबै मिलेर नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने हो ।

एनआरएन जापानले पत्रकारहरुसँग सहकार्य गर्न नचाहेको र एनआरएनका कुराहरु मिडियामा पनि त्यति आउँदैनन् भन्ने छ । तपाईहरुले मिडियालाई बेवास्ता गर्नु भएको हो की तपाईहरुलाई बेवास्ता गरिएको हो ?

हाम्रा लागि सबै बराबरी हुनुहुन्छ । हामीले हाम्रो ग्रुपमा सबैलाई जानकारी दिन्छौ । कतिपयमा आउँछ कतिमा आउँदैन । किन आएर भनेर सोध्ने अवस्था पनि छैन । धेरै साथीहरुले सहयोग गरिरहनुभएको छ ।

तपाईहरुका कार्यक्रममा पत्रकारलाई जोड्न सक्नुभएन नी ?

हामीले पत्रकारहरुको प्रतिनिधि संस्था नेपाल पत्रकार महासंघमार्फत जोड्ने प्रयत्न गरिरहेकै छौं । हरेक कुरामा महासंघलाई जानकारी गराउने गरेका छौं । सबैलाई पठाउँदा कसलाई आयो आएन भन्ने हुन्छ त्यसकारण महासंघलाई नै फलो गरेका छौं ।

पत्रकारहरुलाई तपाईहरुका कार्यक्रमका समितिहरुमा राख्न मिल्छ कि मिल्दैन ?

हामीले प्रचार प्रसारलाई व्यवस्थित गर्न खोजिरहेकै छौं । नेपाली पत्रकारका लागि भनेर एउटा टिम नै खडा गरेका छौं । कतिपय अवस्थामा पत्रकार साथीहरुले पनि चासो दिएर जोडिएर जानुपर्ने हुन्छ ।

तपाईहरुको आगामी कार्यक्रम के के छन् ?

हामीले यो सफल गरेपछि जापान फेस्टिबल भनेर नेपालमा गर्ने सोच बनाएका छौं । अहिले हामी जापानकै कार्यक्रममा केन्द्रित छौं । सँगै पाँच करोड उठाउन हामी बृहत ढंगले लागिरहेका छौं । हामीले कसरी यो रकम उठ्छ भनेर खाका पनि बनाएका छौं । सोही अनुसार काम हुन सक्यो भने यो सम्भव छ ।

तपाई फेरि अध्यक्षमा उठ्नुहुन्छ ?

म संस्थाको पदको भोगी होइन । मेरो मिसन हो यो । आगामी कार्यकालमा आउने साथीहरुले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । कार्यसमितिले ल्याएको हुनाले राम्रो कार्यक्रमलाई सबैले निरन्तरता दिनुपर्छ । संस्था भनेको सँधै एउटा मान्छेले चल्ने होइन । भिजन भएको, काम गर्न र समय दिन सक्ने मान्छे आउनुपर्छ । संस्थामा बसेपछि संस्थाको जिम्मेवारी लिन सक्ने मान्छे चाहिन्छ । हामीलाई किन यो जिम्मेवारी दिएको भन्ने कुरा बुझ्न सक्नुपर्छ । अहिले संस्थासंस्थाबीच प्रतिपस्र्धाको अवस्था छ । यो राम्रो कुरा होइन सबै मिलेर जानुपर्छ ।

तोकिएको लेबी नउठेको अवस्था छ भन्ने पनि बाहिर आएको छ, कार्यलय कसरी सञ्चालन भइरहेको छ ?

सुरुवातमा मैले एक महिनाको भाडा तिरे । अन्य साथीहरुले अफिसका सामग्री ल्याउनु भयो । एउटा जम्मा हुने ठाउँको आवश्यकता महसुस भयो । सबैले निश्चित रकम पनि जम्मा गर्नु भयो । मैले पनि १२ मान जम्मा गरे । संस्था त चलाउनु पर्यो नी ।

लेबी उठेन, नाम सार्वजनिक गर्छौ भनेर कोषाध्यक्षले केही समयअघि फेसबुकमै राख्नु भएको थियो नि के हुँदैछ ?

लेबीका लागि हामीले एउटा व्यवस्था गरेका थियौ । बुझ्ने कुरा साथीहरुको हो । कतिपय साथीहरुले अझै तिर्नु भएको छैन । उहाँहरु रातो लिस्टमा हुनुहुन्छ । त्यस्ता साथीहरुले भोलि लेबी नतिरेसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था गर्दै छौं । चाहे त्यो आइसीसीको होस या एनसीसीको होस् ।

सदस्यता कार्ड वितरण कहाँ पुग्यो ?

सदस्यता कार्डको काम सकिइसकेको छ । कार्ड लिईसकेपछि केही प्रयोगमा आओस भन्ने हो । कार्ड डिजाइन पनि भएर आइसकेको हो । यसकालागि हामीले स्पोन्सरका लागि समाचारमा पनि दिइसकेका छौं । धेरै आइसक्नु भएको छ । त्यसलाई फाइनल गरेर हामी बाहिर ल्याउँदै छौं । सम्भवतः अगस्ट महिनासम्मा हामी कार्ड वितरण गर्न सक्नेछौं । स्पोन्सरको नाम लेखिदिन्छौं ।

तपाईलाई परिवारबाट कत्तिको सहयोग छ ?

मलाई चाँहि विगतका अध्यक्ष भन्दा दोब्बर सहयोग होला । किनभने म दुई महिनादेखि यो कार्यलयमा छु । आफ्नो काम हेर्न पाएको छैन । किनभने मैले आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्यो ।

बाहिर धेरै हिँड्दा शंका हुँदैन ?

हुँदैन, त्यो भनेको विश्वासको कुरा हो । किनभने म कस्तो छु भन्ने पनि हुन्छ । म बाहिर स्वयमसेवकको रुपमा काम गरिरहेको छु शंका गर्नुपर्ने कुनै कारण पनि छैन ।

तपाई अध्यक्ष भइसकेपछि नेपालबाट समर्थक पनि धेरै छन्, नेपालको परिवारबाट कस्तो सपोर्ट छ ?

मलाई परिवारको सहयोग छ । तिमीले गरेको काम राम्रो छ अझै अघि बढ भनेर प्रेरणा दिनुहुन्छ ।

एनआरएनए उपाध्यक्ष जापानमै हुनुहुन्छ उहाँको सहयोग नी ?

भवन भट्टको सहयोग धेरै नै छ । उहाँहरुबाट सिक्ने कुरा पनि धेरै छ । एनआरएनलाई यहाँ ल्याउनका लागि उहाँले हरेक काममा सहयोग गर्नुका साथै एनआरएनलाई यहाँ ल्याउन पनि धेरै ठूलो योगदान छ । हामीले उहाँलाई  बिर्सन सक्दैनौं ।

पूर्व अध्यक्षहरुले एनआरएनमा लागेपछि आर्थिक अवस्था खस्कदो छ भन्छन्, तपाईको कस्तो छ नी  ?

त्यो त ठीक कुरा हो । जस्तो जापानमा सातामा ५ वटा कार्यक्रम हुन्छ । सबैतिर जानुपर्ने हुन्छ । सबैले आर्थिक सहयोग पनि माग्छन् । दिने नै हो भने ५ मान त्यतै जान्छ । त्यो अनुसार काम गर्न पाइदैन । समय भनेको पैसा हो नी होइन र । तर सामाजिक कार्यक्रममा लागेपछि त्यसमा सन्तुष्ट हुनुपर्छ ।

चुनावका क्रममा केही शाखाहरु खोल्नुभयो, अहिले चाँहि विस्तार गरिएको छैन । अब खोल्ने सम्भावना छ ?

सकेसम्म नेपालीको जनघनत्व बढी भएका क्षेत्रमा शाखा खोल्नै पर्छ । त्यहाँ रहेका नेपालीहरुका समस्या कसले सुनिदिने त ? राजदूतावास टोकियोमा छ । अन्य स्थानमा रहेका नेपालीहरुका समस्या पनि सुन्नै पर्छ ।

नेपालीका समस्या टोकियोमा बढी छन् कि टोकियो बाहिर ?

नेपालीको जनघनत्वको आधारमा टोकियोमा पनि समस्याहरु छन् । टोकियोबाहिर पनि उत्तिकै समस्या छन् तिनीहरुलाई समाधान गर्नका लागि शाखाहरुलाई परिचालन गरेका छौं । आवश्यकताअनुसार केन्द्रले पनि हेर्छ । तीन जना उपाध्यक्षहरुले तीनवटा क्षेत्र बाँढेर पनि हेर्नुभएको छ ।

धन्यवाद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?