अमेरिकी विदेशमन्त्री जोन केरीद्वारा जापानको हिरोसिमा भ्रमण

John kerry In Hirosimaटोकियो । जी–७ का विदेशमन्त्रीहरुको सम्मेलनका क्रममा जापान आएका अमेरिकी विदेशमन्त्री जोन केरीले हिरोसिमाको भ्रमण गरेका छन् ।

दोस्रो विश्वयुद्धका क्रममा ६ अगष्ट १९४५ मा अमेरिकाले परमाणु बम खसाएको हिरोसिमा भ्रमण गर्ने केरी अहिलेसम्मका सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन् ।

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसाएको परमाणु बमका कारण १ लाख ४० हजार जापानीले ज्यान गुमाएका थिए ।

केरीले ‘पिस मेमोरियल पार्क’ मा मृतकहरुको सम्झनामा पुष्पगुच्छा अर्पण गरेका थिए ।

जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको बैठकमा आतंकवाद, समुद्री सुरक्षा र परमाणु अप्रसारलगायतका विषयमा छलफल हुदैछ ।

जोन केरीको हिरोसिमा भ्रमणपछि आगामी मे महिनामा हुने जी–७ को शिखर सम्मेलनका क्रममा राष्ट्रपति बाराक ओबामाले समेत हिरोसिमाको भ्रमण गर्नसक्ने अपेक्षा गरिएको छ ।

नोबेल शान्ति पुरस्कार समेत जितेका अमेरिकी राष्ट्रपति ओबामाले समेत संसारलाई परमाणु हतियारमुक्त बनाउने बताउँदै आएका छन् । तर जी–७ भित्र नै परमाणु हतियारका विषयलाई लिएर विवाद रहेको छ ।

अझैपनि जी–७ भित्रका अमेरिका, फ्रान्स र बेलायतसँग परमाणु हतियार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?