टोकियो । जापानमा शबिनारसाँझ नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ को दोस्रो च्यारिटी शो हुने भएको छ ।
नेपालको धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माणार्थ उक्त चलचित्र जापानमा प्रदर्शन गरिन लागेको हो ।
चलचित्र निर्माता तथा निर्देशक दिनेश डिसीको समेत उपस्थितिमा टोकियोको सोलमारीस्थित नेपाली मुरा हल शिन ओकुबोमा साँझ ‘म नेपाली ग्रुप’ को आयोजनामा चलचित्रको दोस्रो शो हुन लागेको हो ।
चलचित्र प्रदर्शनबाट उठेको सम्पूर्ण मुनाफा रकम झोलुङ्गे पुल निर्माणका लागि खर्च गरिने छ ।
सोही कार्यक्रममा धादिङको मझुवामा झोलुङ्गे पुल निर्माणका लागि जापानमा उठेको रकम हस्तान्तरण गरिने छ ।
अमिर अलीको प्रस्तुती रहेको रोमान्टिक प्रेम कथा एवं सस्पेन्स कथावस्तु समेटिएको ‘फूलै फूलको मौसम तिमीलाई’ मा दिनेश डिसीको कथा तथा निर्देशन र सुरेश अधिकारीको संगीत रहेको छ ।
चलचित्रमा वास्तविक जोडी नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी, विजय लामा, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।